१३ करोडभन्दा बढी रकम ठगीमा प्राइम बैंकका सञ्चालक समेत ६ जना पक्राउ

0
Shares

नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रूपैयाँभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रूपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पंगेनी, काठमाडौंका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ। नरेन्द्र बज्राचार्य प्राइम कमर्सियल बैंकका सञ्चालक समेत हुन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।