हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । गत पुस ११ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो । जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशङ्करले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले जनाएको छ ।
उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले बताए ।
जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग लिमिटेड र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन । किसानबाट अघिल्ला वर्षमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द अवस्थामा छ ।
नेपाल सरकारले दिने अनुदान बापतको रु ६५.२८ का दरले उखु किसानले पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको छ ।
उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित भएपछि अनुदान बापतको रकम किसानलाई वितरण शुरु गरिने कोलेनिका मलङ्गवाका प्रमुख जगत थपलियाले बताए । सरकारले किसानले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित गरिदिन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।
प्रतिक्रिया