करिब २० वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैँचा र गार्मेन्ट थिए । तर अहिले गलैँचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ । अन्तराष्ट्रिय बजारमा गलैँचा निर्यात हुन छाडेपछि सिन्धुपाल्चोकमा गलैँचा बुनेर जीवन गुजारा गर्नेलाई अप्ठ्यारो परेको छ ।
घरमै बसेर बुन्न र आम्दानी गर्न सकिने भए पनि बजार नभएकै कारण गलैँचा उद्योग धरासयी बन्न थालेको छ । सोही कारण पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका हीरा तामाङलाई घर खर्च कसरी चलाउने भन्ने चिन्ता छ ।
गलैँचाको अत्यधिक माग हुने चीनमा कोरोना भाइरस सङ्क्रमणका कारण गलैँचा निर्यात ठप्प छ । त्यसैले गलैँचा उद्योगमै निर्भर २०० भन्दा बढी परिवार आर्थिक समस्यामा परेका छन् ।
गलैँचा बुनेर स्वरोजगार भएका बढीजसो महिला छन् । उनीहरू खेतबारीको कामसँगै साँझ–बिहान गलैँचा बुन्छन् । महिलाका लागि गतिलो आम्दानीको स्रोत बनेको गलैँचा उत्पादन र निर्यात ठप्पजस्तै बनेपछि मासिक २० हजारसम्म कमाउने स्थानीय सुकुमाया तामाङलाई गुजारा चलाउनै मुस्किल परेको छ । जिल्लाको हिमाली भेगका धेरैजसो स्थानमा गलैँचा बुन्नेहरू भेटिन्छन् ।
आजभोलि गाउँघरमा रहेका साना उद्योगले पनि आत्मनिर्भर बन्नमा सहयोग गरिरहेका छन् । गलैँचा निर्यात नहुँदा यसअघि पाउँदै आएको पारिश्रमिक पनि घटेको अर्का स्थानीयवासी कर्मु लामाले गुनासो गरीन् । स्थानीय सरकारले साना उद्योगलाई प्रोत्साहन गर्दै उत्पादन भएका गलैँचालाई स्वदेशमै बिक्री गर्ने वातावरण बनाउन सके आफूहरूलाई सजिलो हुने उद्यमी बताउँछन् ।
प्रतिक्रिया