प्रधानमन्त्रीले खोले २ वटा डिम्याट खाता, त्रिशुली जलविद्युतको पहिलो शेयर खरिद गर्ने

0
Shares

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले डिम्याट खाता खोलेका छन् । ओलीले मंगलबार डिम्याट खाता खोलेका हुन् । उनले ग्लोबल आईएमई क्यापिटलमा र नेपाल डिपी लिमिटेडमा गरी २ वटा डिम्याट खाता खोलेका हुन् ।

एक व्यक्तिले एउटा मात्र डिम्याट खाताबात आवेदन दिन सकिने भए पनि उनले २ वटा खाता खोलेका हुन् । एक व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाइन्छ तर आइपिओमा आवेदन दिंदा भने एउटाबाट मात्र दिन मिल्छ ।

‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको पहिलो आईपिओ त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गर्न लागेको हो । कम्पनीले चैत्र ७ गतेदेखि शेयर निष्काशन गर्ने भएको हो । सोहि शेयरमा आवेदन दिन प्रधानमन्त्रीले खाता खोलेका हुन् । यस अघि उनको डिम्याट खाता थिएँन ।

ओलीले गत फागुन २ गते ‘जनताको जलविद्युत् कार्यक्रम’ घोषणा गरेका थिए । कार्यक्रमको नारा ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपालीलाई विद्युतको सेयरधनी’ तय छ । यस कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाको एक खर्ब रुपैंया बराबरको शेयर जनतालाई दिने सरकारी तयारी छ ।

कार्यक्रमको सार्बजनिक गर्दै प्रधानमन्त्री ओलीले यसको पहिलो शेयर आफुले खरिद गर्ने बताएका थिए । सोहि प्रतिबद्दता अनुसार शेयर खरिद गर्न उनले डिम्याट खाता खोलेका हुन् ।

कम्पनीले जारी पूँजी दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयरमा सर्वसाधारणकाले आवेदन दिन सक्ने छन् ।

यहि सर्वसाधारणलाई छुट्याइएको शेयरमा प्रधानमन्त्रीले पनि आवेदन दिन लागेका हुन् । आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने ब्यबस्था छ । प्रधानमन्त्रीले कति कित्ताको लागि आवेदन दिन्छन त्यो भने हेर्न बाँकि छ ।

जनताको जलविद्युत आयोजनामा रहेको ब्यबस्था अनुसार कम्पनीले हालको लागि प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो । यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुरा भएपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ ।

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता ९पिपिए० र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो ।

आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ ।