अर्थतन्त्रको अत्यास लाग्दो आँकडा : उच्च आयातले घाटा आकासियो, विप्रेषणले धान्नै मुस्किल

0
Shares

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनासम्मको देशको वर्तमान वित्तीय तथा आर्थिक स्थितिमा अधिकांस सूचक सन्तोषजनक नरहेको पाईएको छ ।

समीक्षा अवधिमा आयात उच्च रुपमा बढ्दा सरकारको चालु खाता घाटा, शोधान्तर घाटा उल्लेखीय रुपमा विस्तार भएको छ । यस्तै विदेशी मुद्रा सञ्चिति समेत घटेको छ । सरकारले रकम खर्च गर्न नसक्दा राष्ट बैंकको ढुकुटीमा रकम थुप्रिएको छ । विदेश गएका कामदारले कमाएर पठाएको पैसा आयात भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार उच्च आयातका कारण चालु खाता घाटा २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ७२ अर्ब ६७ करोड रहेको थियो । चैतसम्म शोधनान्तर घाटा बढेर ६४ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा रहेको थियो ।

यस अवधिमा आयात २१.३ प्रतिशतले बढेको छ । कुल वस्तु निर्यात १६.९ प्रतिशतले सुधार भएको छ । ९ महिनाको अवधिमा १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ बराबरको आयाता हुँदा ६९ अर्ब ८२ करोडको मात्रा निर्यात भएको छ ।

अत्यधिक आयातको कारण देशको विदेशी मुद्रा सञ्चिति समेत घटेको छ । चैत महिनासम्म आइपुग्दा विदेशी सञ्चिति अमेरिकी डलरमा ११.८५ प्रतिशतले घटेको छ । चैत मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५० अर्ब ८५ करोड छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ५२ करोड रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट बैंकले जनाएको छ ।

यस अवधिमा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स भने २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.९ प्रतिशतले वृद्धि भई ७ खर्ब ४६ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले घटेको थियो ।