नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले मालपोत कार्यालय र सुनचाँदी पसल खुलिसकेको अवस्थामा पूँजीबजार अझ बन्द हुँदा पूँजीबजारको विश्वसनियता माथि प्रश्न उठेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको २८ औं बार्षिउत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष रानाभाटले बजार बन्द रहदा शेयर लगानीकर्ता खरिदबिक्री गर्नबाट वञ्चित हुनका साथै राज्यले दैनिक लाखौँ राजश्व, धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरहरु, डीपी तथा ब्रोकरहरुले पनि आफ्नो आम्दानी गुमाउनु परेको धारणा राखे।
बजार बन्द गर्नुपर्ने अवस्था आउनु आफैमा दुखदायी भएको भन्दै लकडाउनसँगै बन्द रहेको बजार कहिले खुल्छ र खुलेपछि के हुन्छ भन्ने आम चासोको विषय बनेको बताए। यस्तो अवस्ता आउनुमा एक अर्कामा दोषारोपण गर्नुभन्दा आ आफ्नो दायित्वबोध गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहको उनको भनाई छ।
बजारलाई चलायमान बनाउनका लागि बजारमा समयअनुसार नीति नियम बनाई सम्बन्धित पक्षसँग समन्वय गरी बजार सञ्चालन गर्नुपर्ने रानाभाटको भनाई छ। बजेटले लगानीकर्ता तथा ब्रोकरहरु समस्या सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले बजारमा तत्कालै गर्न सकिने कुराहरुमा समन्वय गर्न बोर्डको ध्यानकर्षण समेत गराए ।
अर्थमन्त्रालयसँग समन्वय गरी ५ प्रतिशत अन्तिम करको अन्योलता हटाउने, राष्ट्र बैंकबाट बैंकले दिएको मार्जिन कर्जाको सीमा बढाउने तथा नविकरण र ब्याज तिर्ने समय बढाउने, सिआईटि लगायतका कम्पनीले दर्ता गरेको मार्केट डिलरलाई तत्काल काम गर्ने अवस्थाको सिर्जना गराउनुपर्नेमा उनको जोड छ ।
त्यस्तै अनलाईन सेटलमेन्टका लागि बैंकसँग इन्टिग्रेशन कार्य भइरहे पनि नेप्सेले एपीआईभी ब्रोकर ब्याकअप सिस्टमा समेत यहि लकडाउनको बीचमा इन्टिग्रेशन गर्ने कार्य सकी बजार खोल्दा अनलाईनबाट हुने ट्रेडिङ्ग तथा सेटलमेन्टको काम गर्ने वातावरण बनाउन सकिने उनको धारणा थियो।
यसैगरी उनले ब्रोकरहरुले मार्जिन लेन्डिङ्ग सञ्चालन गर्दा आइपरेका अफ्ठ्याराहरुलाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा ल्याउनुपर्ने, राष्ट्र बैंकसँग समन्वय गरी बजारका समस्याहरु तत्काल समाधान गर्नेतर्फ सरोकारवलाको ध्यानकर्षण गराए।
साथै ब्रोकर कम्पनीहरु लगायत अन्य इच्छुक संस्थाहरुलाई धितोपत्र डिलरको रुपमा कार्य गर्न दिने व्यवस्था सहज बनाई अगाडि बढाउने, एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने विषयमा ठोस निर्णय गर्ने, इन्ट्राडे ट्रेडिङ्गलाई तत्काल कार्यान्वयनमा ल्याउने, अक्सन मार्केटलाई तत्काल सुरुवात गर्ने, ब्रोकर कम्पनीहरुलाई पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी सर्भिस जस्ता सेवाहरु दिने व्यवस्था गर्ने र ऋणपत्रको दोस्रो बजारलाई कारोबार योग्य बनाई व्यवस्थित बनाउनेतिर अबिलम्ब लाग्नुपर्ने सुझाबहरु समेत दिए ।
लकडाउनको प्रभाव अन्य क्षेत्रमा जस्तो यस क्षेत्रमा पनि देखिएको तर सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे । आगामी दिनमा कहिले पनि बजार बन्द गर्न नपर्ने प्रवृति र भौतिक औजारहरु बजारले प्राप्त गरोस भन्नेतर्फ बोर्डले ध्यान दिनुपर्ने उनको भनाई छ।
प्रतिक्रिया