अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको कार्यक्षमता र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बोर्डको २८ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्दै उनले धितोपत्र बोर्ड स्वायत्त संस्था भएकाले सरकारको एउटा बृहत नीति नियमभित्र रहेर बजार सञ्चालनका लागि आफ्नो स्वायत्त अधिकार प्रयोग गर्नुपर्नेमा त्यसो गर्न नसकेको बताए। त्यसका लागि क्षमता र साख चाहिने उनको भनाई छ।
खासगरि पछिल्लो समय धितोपत्र बोर्ड र नेप्से तथा अन्य माताहतका निकायहरुले बोर्डको निर्णयविरुद्ध गरेर प्रचार प्रसार गरिरहेको सन्दर्भमा आन्तरिक रुपमा मिलाउन निर्देशन दिँदै भने “नियमनकारी र साखयुक्त रसंस्थाले दिएको निर्देशनहरु अपरेटिङ्ग एजेन्सीहरु अथवा कार्र्यान्वयनमा जाने संस्थाहरुले इफ बट भन्ने कुरै हुन सक्दैन। केही नमिलेको भए आन्तरिक रुपमा छलफल गर्ने तर नियामक निकायका निर्णयहरु विरुद्ध बाहिर प्रचार प्रसार गर्ने कुराले त्यति राम्रो हुँदैन। आन्तरिक रुपमा मिलाउन सकिने कुरा मिलाउनुपर्छ। यसतर्फ पनि यहाँहरुले एकीकृत ढंगले र समन्वयात्मक ढंगले ककाम गर्नुहोला।”
प्रविधि हस्तान्तरण र पूँजीबजारको विस्तारका लागि सार्कक्षेत्रमा सहकार्य
कार्यक्रममा अर्थमन्त्री खतिवडाले व्यापारमा मात्र सीमित रहेको सार्कको आबद्धतालाई पूँजीबजारको विस्तारका लागि सहकार्य गर्दै जानुपर्ने बताए। यसले प्रविधि हस्तान्तरण, सँगसँगै केही क्षेत्रमा पूँजी परिचालन गर्न समेत नेपाललाई सहयोग पुग्ने उनको धारणा छ।
एशियाली मुलुकहरु र खासगरि दक्षिण एशियाली मुलुकहरुको बीचमा पूँजी बजार परिचालनमा अत्यन्त धेरै सहकार्य हुनुपर्ने आफूले देखिको उनले बताए। कोभिड– १९ कारण विश्वअर्थतन्त्र प्रभावित भएपनि युरोपेली र अमेरिकी मुलुकका पूँजीबजारहरुको तुलनामा दक्षिण एशियाली मुलुकहरुमा सकारात्मक आर्थिक वृद्धिका कारण पूँजी बचत पनि यहिँ हुने र लगानी पनि यहि क्षेत्रमा हुने भएकाले पूँजीबजारको संलग्नता पनि त्यहिँ चाहिने उल्लेख गरे।
उनले भने “कोभिड १९ संक्रमणका कारणले अहिले केही सीमित मुलुक मात्रै आगामी आवमा सकारात्मक अंकमा आर्थिक वृद्धिमा जाने।हुनेमा एशियाली मुलुकहरु छन् त्यसमा केही दक्षिण एशियाली मुलुकहरु पनि छन्। त्यसो हुने हुनाले पूँजी बचत पनि यहिँ हुने हो, लगानी पनि यहि क्षेत्रमा हुने हो, त्यसका लागि चाहिने पूँजीबजारको संलग्नता पनि त्यहिँ चाहिने हो, त्यसो हुनाले सार्क क्षेत्रमा पूँजीबजारलाई चलायमान हुनको लागि एक आपसमा प्राविधिक सहयोग, बजारको समन्वय र भोलि आवश्यक पर्दा सहकार्य गर्दै पूँजीबजार खोल्दै जाने कुरामा पनि छलफल गर्न सकिन्छ।”
शेयर बजार खोल्न बोर्डलाई निर्देशन
अर्थमन्त्री खतिवडाले नेपाल धितोपत्र बोर्डलाई शेयर बजार खुला गर्ने तयारी गर्न निर्देशन दिएका छन्। उनले चुप लागेर नबसेर बजार खुला गरेको दिन गर्नुपर्ने कार्यहरुको तयारी गरेर अघि बढ्न निर्देशन दिएका हुन्।
लकडाउनकै कारण लामो समयसम्म शेयर बजारलाई बन्द गर्नु नहुने भन्दै उनले कोरोना सकिएपछि बजार सञ्चालन गर्नेभन्दा कोरोनासँगै लड्दै दैनिक आर्थिक क्रियाकलापहरु सुचारु गर्दै सञ्चालनमा सहज रुपमा अघि बढाउनेगरि अगाडि बढ्नुपर्ने बताए। सरकारले यसै दिशामा काम गरिरहेकाले बोर्डले पनि त्यस अनुसार कार्य गर्न उनले बोर्डलाई निर्देशन दिए।
सरकारले बजेटमा विगत दुई वर्षदेखि पूँजी बजारलाई कर प्रोत्साहन र करको माध्यमबाट संकेत गर्नुपर्ने भएकाले सरल ढंगले कर तिर्नसक्ने स्थिति र सरल ढंगले व्यवसाय गर्दा कर कै कारणले धितोपत्र बजारलाई प्रतिकूल असर नपरोस् भनेर सम्बोधन गरेको पनि दाबी गरे। त्यसको असरबाटै बीचमा धितोपत्र बजार सुधार भएको बताउँदै उनले अझै केही कुरा मिलाउनुपर्ने भए छलफल गरेर अघि बढ्नसक्ने स्पष्ट पारे।
धितोपत्र बजार सञ्चालनका लागि नेप्सेको रेगुलेटरी क्षमताले मात्रै नपुग्ने भएकाले तरलताको व्यवस्थापनका लागि मार्जिनका कुराहरु र कारोबारको राफसाफलाई छिटोछिटो बनाउन टि प्लस थ्री बाट अझ घटाएर लैजाने कुराहरु गर्न सकेमा त्यहिँबाट तरलता सिर्जना हुने उनको भनाई छ। शेयर किन्न व्यक्तिको हातमा रकम नभई नसक्ने भएकाले तरलता नै चाहिने उनले बताए।
कतिपय अवस्तामा उत्पादनको प्रकृया शिथिल हुँदा बजार शिथिल हुँदा या आथिक वृद्धिदरहरु विश्वब्यापी रुपमा घट्दै जाँदा अल्पकालीन रुपमा शेयर बजारमा पनि त्यसको नकारात्मक प्रभाव परेपनि सधै एकै अवस्था नरहने उनको भनाई छ।
यसैगरी बजारमा शेयरको मूल्य स्थिरिकरण र अनुमानयोग्य बनाउनका लागि बजारमा संस्थागत लगानीकर्ताहरुको प्रवेशलाई बढवा दिनुपर्ने बताए । बजारमा स्टक डिलरको रूपमा काम गर्न केही संस्थागत लगानीकर्ताहरु इच्छुक देखिएको सन्दर्भमा त्यसतर्फ बोर्डले जतिसक्दो चाडो व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।
उनले भने “स्टक डिलर अगाडि बढाउन केहीले कानुनी प्रकृया अगाडि बढाइसकेकाले संस्थागत लगानीकर्ता थपिएसँगै शेयर बजारमा अस्वभाविक रुपमा हुने उतार चढाव व्यवस्थित हुन्छन्। जसले बजारको धेरै सूचना नपाउने आम लगानीकर्ता प्रताडित हुनुपर्दैन। केही संस्थाहरु जो दोस्रो बजारमा आउन चाहनु भएको छ ती कम्पनीहरुसँग काम गर्नुहोस्।”
व्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्ताले बढी सूचना प्राप्त गर्न, बढी विश्लेषण गर्न, र आफ्नो लगानीमा आउने उतार चढावलाई पनि धान्नसक्ने क्षमता हुने हुनाले संस्थागत लगानीकर्ता बढाउनुपर्नेमा उनको जोड थियो।
प्रतिक्रिया