पूँजी बजार संकटग्रस्त अर्थतन्त्रको संजिवनि – डा. दिबाकर बशिष्ठ

0
Shares

कोभिड-१९ को संत्रास पछि सरकारले विगतको लक्ष्य अनुसार कुल गार्हस्थ उत्पादनका अनुमानित वृद्धिदर ८.५ प्रतिशतलाई घटाएर २.२७ हुने अनुमान सार्वजनिक गरेको छ । हामीले वैज्ञानिक तथ्य विना धेरै हचुवाको भरमा आर्थिक वृद्धिदरको अनुमान घटाउनु सार्थक नहुन सक्छ । यसले जनमानसमा नकारात्मक असर पर्न जान्छ । कोरोना संकट लामो समय लम्बिन पनि सक्छ जसबाट आर्थिक वृद्धिदर २.२७ भन्दा तलपनि झर्न सक्छ । त्यस्तै आगामी आषाड मसान्तबाट महामारीमा कमी आई देशमा आर्थिक गतिविधी लगायत पुँज बजार चलायमान भयो भने आर्थिक वृद्धिदर मा पुन सुधार नआउला भन्न सकिदैन ।

नेपालको संघियता समेत बढी खर्चिलो भएको हुँदा संघिय, प्रदेश तथा स्थानीय सरकारले संकटलाई मध्यनजर गरी अनावश्यक फजुल खर्च लगायत साधरण खर्चमा कटौति गर्न सकेको खण्डमा आर्थिक वृद्धिदरमा धेरै निरासाजनक अवस्था नआउन पनि सक्छ । मुलत देशमा पुँजीको अभावले आर्थिक संकट हुन्छ । पुँजी आन्तरिक तथा वाह्य स्रोतबाट उठाउने गरिन्छ । नेपालको सन्दर्भमा पुँजी बजारलाई प्रश्रय गर्न सकियो भने महामारीले ल्याउने आर्थिक संकट टार्न आन्तरिक स्रोतबाट पनि पर्याप्त पुँजी जुटाउन सकिन्छ । 

संकटबाट मुक्तिको लागि स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने सरकारको योजना अनुरूप एसियाली विकास वैक लगायतसंग आर्थिक सहयोगको अनुरोध गरेको देखिन्छ एकातर्फ भने अर्को तर्फ नेपालको पुँजी विभिन्न वहाना र माध्यामबाट भारत लगायत विभिन्न देशमा पलायन भएको समाचार पनि आइरहेको सन्दर्भमा पुँजी बजारलाई थप सुदृढ गर्दै उचित लगानीको वातावरण निर्माण, लगानीकर्तालाई उचित प्रतिफल दिने र प्रतिस्पर्धि एवं वैज्ञानिक ब्याज दर कायम हुन सकेको खण्डमा मात्र पुँजी पलायनलाई केहि हदसम्म रोक्न सकिने अपेक्षा गर्न सकिन्छ ।

पुँजी विकासको साधन हो तसर्थ संकटको वेलामा पुँजीको आवश्यकता पर्ने र यसको जोहो पुँजी बजारबाट गर्न सकिने हुँदा यसलाई संकटग्रस्त अर्थतन्त्रको संजिवनि भन्न सकिन्छ । पुँजी बजारको सुदृढिकरण विना देश विकासको कल्पना अधुरो हुन्छ । सेयर भनेको त लगानीको हिस्सा वा हिस्सेदार वन्नु हो । दीर्घकालीन अवधि एक वर्ष भन्दा बढीको लागि लेनदेन गरिने बजारलाई पुँजी बजार वा सेयर बजार वा धितोपत्र बजार भन्ने गरिन्छ । यो दुई प्रकारको हुन्छ । प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कम्पनि वा संस्थाबाट प्रथम पटक निस्कासित सेयर, ऋणपत्र आदि पर्दछन भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भै सकेको सेयरहरुको किनवेच हुने गर्दछ । अधिकांस सर्वसाधरणमा पुँजी बजारको ज्ञान छैन एकातर्फ भने अर्को तर्फ प्राथमिक बजार र दोस्रो बजार भनेको समेत थाहा नभएको अवस्था छ ।

नेपालमा दास्रो बजारको कारोबार वि.स. २०५० माघ देखि भएको हो । हाल नेपालमा धितोपत्र बोर्डमा दर्ता तथा निष्काशन अनुमति पाएका कम्पनिको संख्या करिब ३०० भन्दा बढी छ । दीर्घकालीन लगानी गर्ने वित्तीय संस्थाहरुदेखि लिएर औद्योगिक लगानीका लागि सेयर पुँजी परिचालन गर्ने धितोपत्र बजार र ऋणपत्र बजार समेत यस परिभाषा अन्तर्गत पर्दछन् । सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनि मुद्रा तथा पुँजी बजारका अंग हुन सक्दछन् ।

वाणिज्य बैंकले अल्पकालीन लगानीको अतिरिक्त दीर्घकालीन लगानी ऋण तथा सेयर सहभागीता गर्न सक्छ । त्यस्तै दीर्घकालीन पुँजी प्रवाहका लागि स्थापित विकास बैंकहरुले छोटो अवधिको सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन् । संस्थागत भन्दा उपकरणगत प्रकृतिको आधार मुद्रा बजारमा अल्पकालीन निक्षेप, ट्रेजरी बिल, अल्पकालीन व्यवसायिक कर्जा, ओभरड्राफ्ट, टी.टी. आदिको उपयोग हुन्छ भने पुँजी बजारमा दीर्घकालीन निक्षेप, स्थिर पुँजीका लागि कर्जा, सेयर लामो अवधिका सरकारी ऋणपत्रहरु तथा लामो अवधिका ऋण जस्ता उपकरणको प्रयोग हुन्छ ।

नेपालमा पुँजी बजार भन्दा वित्तिकै सेयर बजारको वाहुल्यता देखिन्छ जहां विभिन्न संघ संस्थाको सेयरको खरिद बिक्री गरिन्छ । यसलाई समेत पुँजी बजार भनिन्छ । तर विडम्वना नेपालको सेयर बजारलाई व्यवस्थीत र भरपर्दो बनाउनको लागि विभिन्न नियम कानुन वनेको र अनुगमनकारी निकायको रूपमा धितोपत्र बोर्ड समेत रहेको भएता पनि राजनैतिक हस्तक्षेपको कारण कानुनको एकातर्फ उचित कार्यान्वयनको अभाव छ भने अर्को तर्फ धितोपत्र बोर्डको अनुगमन अपेक्षितरूपमा पर्याप्त नदेखिएको हुँदा आगामी दिनमा सेयरबजारलाई यवस्थित गर्नको लागि धितोपत्र बोर्ड ले थप सक्रियता देखाई पुँजी बजारलाई सुदृढ बनाउन ढिला गर्न हुंदैन ।त्यसो त सेयर सम्बन्धी जनचेतनाको स्तरलाई हेर्ने हो भने कुल जनसंख्याको करिब १० प्रतिशतलाई मात्र सेयर र यसको किनवेच, महत्व बारे थाहा होला भन्ने अनुमान गर्न सकिन्छ । डिम्याट, धितोपत्र दलाल, आस्वा जस्ता कुराहरुको पर्याप्त जानकारी विना सेयर कारोबार असम्भव छ । सेयर बजारको मुख्य केन्द्र काठमाडांै रहेता पनि सूचना प्रविधिको विकासको कारण देशका सबै अधिकांस ठाउँबाट यसको कारोबार सम्भव छ । देशका निकैसिमित ठाउँमा धितोपत्र दलालको कार्यालय रहेको भएता पनि हाल सेयरको बिक्री तथा खरिद अनलाइनबाट नै गर्न सकिने व्यवस्था छ । तथापी सेयर, पुँजी बजार, प्राथमिक बजार र दोस्रो बजार आदिको बारेमा क्षेत्रगत रूपमा वृहत्तर किसिमले यस सम्बन्धी साक्षरता र जनचेतना जगाउन ढिला भैसकेको छ ।

सेयर बजारको अनपेक्षित उतार चढाव हेर्दा हाल नेपालको सेयर बजार केहि सिमित व्यक्तिले चलाएको जस्तो देखिन्छ । कृत्रिम अभाव, अवैध चलखेल अर्थात कार्टेलिंग आदिको कारणले नै सेयर बजार स्थिर हुन नसकेको हो भन्ने व्यक्तिको कमी छैन । नेपालको सेयर बजार वैज्ञानिक कारण भन्दा पनि राजनैतिक घटनाक्रम एवं विश्व संकट र स्वदेशको आर्थिक संकटको आधारमा घटबढ हुने गर्दछ । सैद्धान्तिक विश्लेषण गर्ने हो भने कम्पनिको आर्थिक अवस्थाको कारणबाट सेयर घटबढ हुनु पर्ने हो र सेयरमा लगानी गर्दा लगानीकर्ताको सम्बन्धित कम्पनिको वासलात अध्ययन गर्नु पर्ने हो तर नेपालमा यसरी विश्लेषण गर्ने मानिस एक प्रतिशत पनि छैन ।

बजार हल्लाकै भरमा लगानी गर्ने, तथा सेयर किनवेच गर्ने बानी परेको देखिन्छ । सेयर खरिद गरेपछि एक वर्ष वा सो भन्दा बढी समयसम्म बिक्री नगर्ने लगानी कर्तालाई भारी कर छुट दिन धितोपत्र बोर्डले सरकार समक्ष प्रस्ताव गरेको समाचारले सेयर बजारमा सट्टेवाजी गर्ने, सेयर किनेको ७ दिन पनि नहुंदै बिक्री गर्ने प्रवृतिलाई निरुत्साहित गर्ने देखिन्छ । यस कार्यले दीर्घकालीन लगानीकर्तालाई उत्साहित गरेको देखिन्छ । हालको महामारीले केहि सहज भएपछि खुल्ने सेयर बजारको मूल्य कतिपय कम्पनि तथा बैंकहरुको कहालिलाग्दो रूपमा घट्यो भने आश्चर्य मान्नु पर्ने छैन । लकडाउनको बीचमा केही दिन आंशिक रूपमा सेयर बजार खुल्दा सेयरको मूल्यमा निकै कमीआएको कुरा जनजाहेर नै छ ।

सैद्धान्तिक रूपमा सेयर बजार संकुचन हुनाको कारण हेर्दा सूचीकृत कम्पनिको सेयर मूल्य घट्दै जानु, घरजग्गा कारोबारमा भइरहेको मन्दी, बैंक वित्तीय संस्थाले सेयर किन्न दिने ऋणमा गरेको कडाई, भारतीय नोटबन्दीका कारण छद्म लगानीकर्ता बाहिरिने क्रम, बैंक निक्षेपको ब्याजदरमा हुने उतारचढाव, धेरै बैंक वित्तीय संस्थाहरुले राइट र बोनस सेयर दिइसकेकोले अब सेयर संख्या बढ्दैन भन्ने भावना, बैंकिङ्ग प्रणालीमा तरलता घटबढ, लघुवित्त विकास बैंकको ब्याजदरमा सीमा तोकिएका बीमा कम्पनिको आम्दानीमा कमी, लगानीकर्ताहरुको सेयर बिक्री गर्ने प्रवृत्तिमा बढोत्तरी भएतापनि आगामी दिनमा यसको अलावा सेयर बजारमा संकुचन आउनाको कारण मुलत कोरोना महामारीनै हो भन्ने तर्फ सबैंको एकमत नहोला भन्न सकिदैन । यद्यपी कोरोनो महामारीलाई मात्र दोष दिनु भन्दा पनि सरकारले सेयरबजारको संरक्षणको लागि आवश्यक संकटकालीन नीतिको तर्जुमा गर्नु पर्दछ । आवश्यक दुरी कायम गरेर सेयर बजार खोल्नुको विकल्प छैन ।

सेयर बजारमा परेका संकटलाई मध्यनजर गर्दै यसको सुदृढिकरणको लागिआर्थिक प्याकेज र उपयुक्त नीतिको व्यवस्था गर्नु पर्ने देखिन्छ । विश्वका विकिसित तथा विकासन्मुख मुलुकले अपनाएको नीतिलाई समेत मध्यनजर गर्दै पुँजी बजारको विकासमा ध्यान दिन सक्यो भने मात्रै आवश्यक दीर्घकालीन पुँजीको अभावलाई टार्न सकिन्छ । सरकारलाई विकास निर्माणको लागि चाहिने आवश्यक पुँजी जुटाउन वैकको अलावा सेयर बजारलाई प्रयोग गर्न सकेमामा भविष्यमा पुँजी पलायनको सम्भावनामा कमी आउने देखिन्छ ।

पुँजी बजारमा आउने संकुचनलाई नटारेसम्म संकटकालीन अर्थव्यवस्थाको सुदृढिकरणको कल्पना अधुरो हुन्छ । तसर्थ संकटग्रस्त अर्थतन्त्रको सुधारको लागि पुँजी बजारमार्फत अधिकतम पुँजी जुटाउने र यसको उच्चतम परिचालन गर्नु पर्दछ । जसको लागि सर्वसाधरणलाई अर्थतन्त्रमा आउने गिरावटको बारेमा जनचेतना जगाउने, व्यवस्थापकीय कार्यकुशलतामा वृद्धि गर्ने, सञ्चालन खर्चमा कटौति गर्ने, सिमित स्रोत र साधनको न्युन लागतमा उच्चतम परिचालन गर्न, खर्च र आम्दानी सम्बन्धित नीति नियममा आवश्यक परिमार्जन गर्ने लगायतका कार्य आवश्यक पर्दछ जसले कम्पनिको घाटामा कमी ल्याउंदछ । संकटकालीन अर्थव्यवस्था को विकासको लागि सुदृढ पुँजी बजारको जरुरी पर्दछ भन्ने प्रति सबैंको संकल्प जरुरी छ । यदाकदा सस्तो लोकप्रियताको लागि जिम्मेवार निकायबाट बोलिने अलोकप्रिय शव्दले पुँजी बजारको विकास भन्दा विनास गर्दछ । पुँजी बजारको विकासले औद्योगिक र आर्थिक विकास हुने, रोजगारी सृजना गर्ने, बजारमा तरलता र पुँजीको उपलब्धतामा सघाउने, सर्वसाधरण र कम्पनिहरुलाई लगानी प्रति आकर्षित गर्ने, पुँजी पलायन रोकिने सरकारको वित्तीय नीतिलाई सहयोग हुने, लगानीको गुणस्तरमा वृद्धि हुने, दीर्घकालीन लगानी प्रवद्र्धन हुने गर्दछ जसले वर्तमान आर्थिक संकट समाधानमा संजिवनीको कार्य गर्दछ ।

धितोपत्र बजार वा पुँजी बजारको विकासको लागि निक्षेप तथा कर्जाको ब्याजदरको फराकिलो अन्तर घटाउने, धितोपत्र बजारको उपकरणहरुमा विविधीकरण गर्ने, शहरी क्षेत्र र सीमित क्रियाकलापमा केन्द्रिकृत हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने, कृषि घरेलु उद्योग तथा ग्रामीण अर्थतन्त्रमा लगानी गर्न प्रोत्साहित गर्ने, सेवा क्षेत्रमा बढेको सेयरको आकर्षणलाई कृषि तथा उत्पादनमुखी उद्योग तर्फ आकर्षण गर्ने, दीर्घकालीन कर्जा प्रवाह गर्न उत्प्रेरित गर्ने, लगानी गरिएको कर्जाको सुपरिवेक्षण र अशुलीमा ध्यान दिने, भाखा नाघेको कर्जामा पारदर्शिताको विकास गर्ने, व्यवस्थापनमा सुधार गर्ने, कर्मचारी संचयकोष, बीमा संस्थान, नागरिक लगानी कोष आदि पँुजी बजारमा निर्णायक संस्थाहरुलाई पुँजी बजारमा लगानी गर्न उत्प्रेरित गर्ने, सर्वसाधरणलाई वितरण गरिने सेयरको मात्रा बढाउने, बचतलाई उत्पादनशिल कार्यमा लगाउन जोड दिने, सर्वसाधरणलाई अनुत्पादक खर्चमा कटौति गर्न प्रेरित गर्ने, र राजनैतिक हस्तक्षेपलाई घटाउने कार्य गर्नु पर्दछ ।

विश्वका विकसित मुलुकले समेत पुँजी बजारको विकासबाट नै देशको आर्थिक विकासमा फड्को मारेको प्रशस्त उदाहरणहरु भएको हुँदा नेपालले पनि पुँजी बजार मार्फत दीर्घकालीन तथा अल्पकालीन पुँजीको परिचालन गर्न सक्नु पर्दछ । पुँजी बजार आर्थिक विकासको मुख्य संवाहक भएको हुँदा यसलाई अर्थतन्त्रको संजिवनी भन्ने गरिन्छ ।

तसर्थ नेपाली ऋणपत्र बजारमा अधिकतम ऋणपत्र र सेयर उपलब्ध हुने वातावरण मिलाउने, सेयर बिक्री प्रवन्ध देशव्यापी रूपमा बढाउने, पब्लिक लिमिटेड कम्पनिको रूपमा उद्योग व्यवसाय सञ्चालन गर्न नरुचाउने प्रवृत्तिलाई कम गर्ने, सेयर बजारमा सूचीकृत कम्पनिको संख्या बढाउने, सूचीकृत कम्पनिहरुको पनि वासलात समयमै प्रकाशित गर्नु पर्ने र लगानीकर्तालाई यस प्रति सुसूचीत गराउने,सीमित व्यक्तिले धितोपत्र बजारमा सेयर मूल्यमा उथलपुथल गर्ने परिपाटीको अन्त्य गर्ने, पोर्टफोलियो लगानी शुरु गर्नुपर्ने, नियमन निकायहरु वीच समन्वयको विकास गर्ने, धितोपत्र बजार माथि नियमित सुपरिवेक्षणलाई थप वृद्धि गर्ने लगायतका कार्यले मात्र देशमा पुँजी बजारको विकास भै वैदेशिक ऋणमा समेत कटौति हुन गई भविष्यमा आउने आर्थिक संकटबाट मुक्ति पाउन सकिने कुरामा कसैको दुईमत नहोला।

राष्ट्रिय बाणिज्य बैंकका पूर्व बिभागीय प्रमुख डा. दिबाकर बशिष्ठ, वैक तथा वित्तीय संस्था विज्ञ हुनुहुन्छ।

नेपाल धितोपत्र बोर्ड २८ औं वार्षिकोत्सव लेख विशेषाड्ढ, २०७७ बाट साभार

 

प्रकाशित मिति: २६ जेठ २०७७, सोमबार  ०९ : ३९ बजे