आगामी मौद्रिक नीति लगानीयोग्य पूँजी निमार्णमा केन्द्रित हुनुपर्नेमा जोड

0
Shares

पछिल्लो तीनवर्ष यता वित्तीय बजारमा देखिएको लगानी योग्य रकमअभावको समस्या सम्बोधन हुनेगरी आगामी मौद्रिक नीति आउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति बारे छलफलम बैंकर तथा व्यवसायीहरुले मौद्रिक नीति लगानीयोग्य पूँजी जुटाउनमा केन्द्रित हुनुपर्ने सुझाब दिएका छन । साथै उनीहरुले बैकिगं क्षेत्रमा देखा पर्ने ब्याजदरको तीब्र उतारचढाब समेत नियन्त्रण गर्न आवश्यक रहेको औल्याए ।

बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले सुविधा सहित प्रोत्सहान गर्नुपर्ने बताए । उनले कर्जाको ब्याजदर बढ्न नदिन लगानीयोग्य पूँजीको निर्माण हुनुपर्नेमा जोड दिए । लगानीयोग्य पूँजीको अभाव हुनेबित्तिकै निक्षेपको ब्याजदर बढ्छ । निक्षेपको ब्याजदर वृद्धि हुनेबित्तिकै कर्जाको ब्याजदर पनि बढ्ने भएकाले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लगानीयोग्य पुँजीको निर्माण गर्नेगरी ल्याउनु पनमा उनको जोड थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले हेजिङ फन्डको सुविधा उत्पादनमूलक उद्योगलाई पनि दिनुपर्ने बताए । ‘अहिलेसम्म जलविद्युत् क्षेत्रमा मात्रै हेजिङ फन्डको सुविधा दिइएको छ,’ उनले भने, ‘तर आगामी आर्थिक वर्षको मौद्रिक नीतिले अन्य क्षेत्रमा पनि खुलाउनु पर्छ ।’

विकास बैंक एशोसिएसनका महासचिव मनोज कुमार ज्ञवालीले डिजिटल पेमेन्टमा जोड दिदै नेशनल कार्ड होल्डिङ्ग सिस्टम बनाउन सुझाब दिए । उनले विकास बैंकहरुलाई पनि कार्ड इस्यु गर्न दिनुपर्ने माग गरे । धेरै बैंकको एकै ठाँउमा एटिम बुथ नराखेर नेशनल कार्ड होल्डिङ्ग सिस्टम बनाउनु पर्ने उनको सुझाव छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अभाव ब्यार्होनु नपर्ने उनको भनाई छ ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ब्याजदरमा भद्र सहमति गर्ने बैंकहरुको परिपाटि गलत रहेको बताए । बैंकको ब्याजदर बजारले नै आफै नियन्त्रण गर्ने बताउँदै उनले व्यक्ति वा बैंकले नियन्त्रण गर्नु अर्थतन्त्रको हितमा नरहेको धारणा राखे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आगामी मौद्रिक नीति मंहगी नियन्त्रणमा केन्द्रित हुने जानकारी दिदै सबैका सुझाबलाई समेटिने बताए ।