आगामी दिनमा बजार बन्द नगर्ने सहमतीपत्रमा लगानीकर्ताको हस्ताक्षर, आफ्नै कारणले बजार बन्द भएको स्वीकार

0
Shares

धितोपत्र बजारका लगानीकर्ताले शेयर बजार बन्द आफुहरुले गराएको र आगामी दिनमा बजारको कारोबार नरोक्ने सहमती गरेका छन्।

धितोपत्र बोर्डको रहोबरमा सबै लगानीकर्ताका संघ संगठनका प्रतिनिधिले आगामी दिनमा धितोपत्र बजार बन्द नगर्ने सहमती पत्रमा हस्ताक्षेर गरेका हुन्।
लकडाउनका कारण बन्द गरिएको धितोपत्र बजार बन्दाबन्दी खुकुलो भई सबै क्षेत्रको काम कारबाही नियमित रुपमा सूचारु भएपनि पनि धितोपत्र बजार भने बन्द नै रह्यो ।

बन्दाबन्दी खुकुलो भएपनि पनि धितोपत्र बजार बन्द लगानीकर्ता कै कारणले भएको हबला दिँदै धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई हस्तााक्षर गराएको हो। धितोपत्र बोर्डले आफ्नो कमजोरी लुकाउनका लागि बजार बन्द हुनुको दोष लगानीकर्तामा सार्दा शेयर लगानीकर्ताले भने खुसी भएर सहमती गरेका छन् ।

धितोपत्र बोर्डले कोरोनाको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनको समयमा बजार बन्द गर्नका लागि गठन नगरेको अध्ययन समिति लकडाउन खुकुलो भएपछि भने खुलाउने सन्दर्भमा अध्ययन समिति गठन गरेको थियो।

बोर्डले लकडाउनका बीचमा नयाँ कारोबार संयन्त्र बनाएर समेत बजार खुलाएको थियो । त्यो समयमा समेत अध्ययनको आवश्यक नभएपनि अहिले बजार खुुलाउनका लागि भने अध्ययन गर्न भन्दै धितोपत्र बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गर्यो ।

बोर्डले गठन गरेको सो समितिले धितोपत्र बजारका सरोकालाहरुलाई समेत सहभागी गराई विभिन्न चरणमा छलफल गर्यो । छलफलका क्रममा शुक्रबार लगानीकर्तालाई आगामी दिनमा बजार बन्द नगराउने शर्तमा हस्ताक्षर गराएर आगामी साता देखि बजार खुलाउने सहमती भएको हस्ताक्षरकर्ता एक लगानीकर्ताले बताए ।

“धितोपत्र बोर्ड आगामी साताको सुरुवातिमै बजार खुलाउने भनेको छ,”सहभागी ती लगानीकर्ताले भने, “अध्ययन समितिको प्रतिवेदन पनि कम्पाइल हुँदै छ, केही दिनमा नै त्यो प्रतिवेदन पनि आउँछ, त्यो प्रतिवेदन आएपछिको धितोपत्रको बोर्डको सञ्चालक समितिको पहिलो बैंठकले बजार खुलाउने निर्णय गर्नेछ ।”

धितोपत्र बोर्डको अध्ययन समितिले आइतबारसम्ममा प्रतिवेदन बुझाउने र सोही अनुसार धितोपत्र बोर्डको सञ्चालक समितिले निर्णय गर्ने अर्का एक लगानीकर्ताले बताए । “लगानीकर्ताले बजार सुधारको माग राख्दै गर्दा बजार बन्द हुन नहुने भन्दै सहमति गरेको हौं,” ती लगानीकर्ताले भने, “घरबाट बाहिर नगई शेयर कारोबार गराउने वातावरण गराएरमात्र बजार खुलाउनुपर्ने भन्ने हाम्रो आग्रह हो ।”

आगामी दिनमा अवस्था झनै जटिल बन्दै गएको अवस्थामा पनि लगानीकर्ताले धितोपत्रको कारोबार गर्नसक्ने अधार बनाएर बजार खोल्ने सन्दर्भमा सहमति जनाएको लगानीकर्ताहरु बताउँछन्। समय अनुसार धितोपत्र बजारमा हुनसक्ने जोखिममा समेत लगानीकर्तालाई सम्बोधन गरेर बजार खुलाउन आग्रह गरेका लगानीकर्ता आगामी दिनमा बजार बन्द नहुने पक्षमा देखिएका हुन्।

लगानीकर्तालाई सहमति गराएपछि धितोपत्र बोर्डले बजार विकासका लागि आवश्यक कामहरुमा सहकार्य गर्दै गर्ने तथा ढिलोमा आगामी मंगलबारदेखि धितोपत्रको दोस्रो बजार सञ्चालन गर्ने गरी शुक्रबारको छलफल टुङ्गिएको छ।

लामो समयसम्म धितोपत्र बजार बन्द हुनुको दोष लगानीकर्तालाई देखाउँदै धितोपत्र बोर्डले समेत आफ्ना नियामकीय कमजोरीलाई लुकाएको छ।

अर्थ मन्त्रालयले समेत धितोपत्र बजारको विषयमा निर्णय गर्न धितोपत्र बोर्ड स्वायक्त रहेको बताएपछि धितोपत्र बोर्डले बजार खुलाउने निर्णय गर्न सकेन। आगामी दिनमा पनि बजार कहिले खुल्छ भन्ने एकिन गराउन भने धितोपत्र बोर्डले अझै पनि नसकेको देखिन्छ ।