प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउन नदिन काङ्ग्रेसको बिरोध

0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै बिरोध जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले बजेट अधिवेशनमा सिधै नीति तथा कार्यक्रम ल्याउन लागेकोे र त्यो पारित गरेपछि मात्र प्रि बजेट छलफल गराउने भन्ने सरकारको धारणा आएको भन्दै विरोध गरेको हो ।

काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले पहिला प्रि बजेट छलफल हुनुपर्ने र त्यसपछि नीति कार्यक्रम ल्याई सोहीअनुसार मात्र बजेट ल्याउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले प्रि बजेट छलफल अघि नीति कार्यक्रम ल्याएर जनप्रतिनिधिका धारणालाई नजरअन्दाज गर्न खोजेको उनको आरोप थियो । सङ्घीय संसद्कोे बजेट अधिवेशन यही वैशाख १६ गतेदेखि प्रारम्भ हुँदैछ । यसअघि बजेट अधिवेशनमा पहिले प्रि बजेट छलफल हुने गरेको र त्यसमा जनप्रतिनिधिले धारणा राखेपछि ती धारणा, सुझाव सल्लाहलाई बजेटमा समेटिने गरिएको प्रमुख सचेतक खाणले बताए ।

बैठकले स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले सङ्घीय सरकारले संविधानअनुसार अधिकार नदिएको गुनासो गरेको भन्दै आगामी नीति तथा कार्यक्रम र बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका अधिकारअनुसार ल्याउन माग गरेको छ ।

काङ्ग्रेसले पछिल्लो समय मुलुकमा भ्रष्टाचार र महङ्गी बढेको, जनतालाई करको भार बढाएको, शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको, महिला तथा बालबालिका हिंसा बढेको, सार्वजनिक जग्गा अतिक्रमण बढेको भन्दै उक्त विषयलाई संसद्मा सशक्त रुपमा उठाउने तयारी गरेको छ ।