नेपाल बैंकले डेढ अर्ब बढी लाभांस बाँड्न सक्ने, वित्तीय विबरणमा देखाएन एकरुपता


नेपाल बैंकले प्रत्येक त्रैमासमा अलग अलग ढाँचामा वित्तीय विबरण सार्वजनिक गर्दै कतिपय सूचनाहरुलाई गौंण बनाउन खाजेको छ । दोस्रो बजारका लगानीकर्ताले महत्व राख्ने किसिमका केही सूचनाहरु कुनै त्रैमासमा प्रष्ट पार्ने कहिले गौंण बनाउने गरेको छ । जसका कारण पछिल्ला दिनमा नेपाल बैंकको शेयरमा आकर्षित भएका लगानीकर्तामा अन्यौलता बढ्न थालेको छ ।

प्रतिशेयर आम्दानी, नाफा लगायतका सूचकलाई तुलनात्मक किसिमले हेर्न नमिल्ने शैलीमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरण निकालेको छ । गत त्रैमासमा बैंकले निकालेको वित्तीय विबरणमा उल्लेख गरिएका समयावधि तथा सूचकहरु अहिले अर्कै शैलीमा खुलाइएको छ ।

जहाँ बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २४ करोड ५५ लाख ७६ हजार रुपैंया खुद नाफा कमाएको देखाइएको छ । रेगुलेटरी एडजसमेण्ट पश्चात बैंकले लाभांस बितरण गर्न सक्ने फ्रि प्रोफिट १ अर्ब ६२ करोड १६ लाख ९६ हजार रुपैंया कायम भएको उल्लेख छ ।

एनएफआरएस प्रणालीमा सार्वजनिक गरिएको पुसको त्रैमासिक वित्तीय विबरणमा उल्लेखित सूचकका साथै अन्य सूचकहरु तुलनात्मक रुपमा हेर्न सकिने शैलीमा राखिएकोे थियो । बैंकको प्रतिशेयर आम्दानीमा आउँदै गएको संकुचनका कारण चैत मसान्तमा माथि उल्लेखित सूचकका साथै कतिपय सूचक तुलना गरेर बुझ्न नसक्ने शैलीमा निकालिएको देखिन्छ ।

गत पुस मसान्तमा बैंकले १ अर्ब ६३ करोड रुपैंया खुद नाफा कमाउँदा प्रतिशेयर आम्दानी ३३ रुपैंया ८७ पैसा थियो । अहिले त्यो घटेर ३० रुपैंया ५२ पैसामा सिमित भएको छ ।

बैंकको मूल्य आम्दानी अनुपात ९.७३ गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ ३८४ रुपैंया ४७ पैसा छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंयाबाट बढेर ९ अर्ब ८१ करोड रुपैंया पुगेको छ । जगेडा कोषको आकार पनि एक वर्षको अवधिमा १५ अर्ब २३ करोड रुपैंयाबाट १५ अर्ब ६१ करोड रुपैंयामा मात्र उक्लिएको देखाइएको छ ।

बैंकको व्याज आम्दानी एक वर्षको अवधिमा केही बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा साढे ६ अर्ब रुपैंया रहेको व्याज आम्दानी अहिले साते ७ अर्ब रुपैंया पुगेको छ । व्याज खर्चमा देखिएको फराकिलो वृद्धिले बैंकको खुद व्याज आम्दानीको वृद्धि संकुचित भएको छ ।

विभिन्न शिर्षकका खर्चको आकारमा आएको तिब्र बढोत्तरीका कारण बैंकको संचालन मुनाफाको आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ६ अर्ब माथि रहेको सञ्चालन मुनाफा अहिले ५ अर्बको स्केलमा झरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.७१ प्रतिशत छ ।