स्वरोजगार कार्यक्रममा दुई सय ७० आवेदन


काठमाडौँ महानगपालिकामा प्रधामन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत २७० को आवेदन परेको छ । महानगरले सोमबार आयोजना गरेको ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र कामपाको आर्थिक वर्ष २०७६/७७ को बजेट’ विषयक अन्तरक्रिया कार्यक्रममा वडा नं १ देखि २७ वडा सम्मका २७० ले उक्त आवेदन फारम भरेका जानकारी गराएको हो ।

महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ । उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो पटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहने भन्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखेका थिए । 

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले सरकारको पहिलो कार्यक्रम भएकाले धेरै नागरिकलाई यसबारे थाहा नभएको र जानकारी दिनकै लागि सोही अनुरुपको कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताइन । प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरमा हालसम्म प्राप्त भएको सङ्ख्या अत्यन्तै कम रहेको उल्लेख गर्दै छुटेकाहरुलाई समावेश गर्नका लागि पुनः म्याद थप गर्नुपर्ने उनले बताइन ।

उक्त कार्यक्रममा फारम भर्न यसै वैशाख मसान्तसम्मको समयावधि रहेको छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ । एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ ।