किसानको प्रगतिविना देशको विकास सम्भव छैन


झापा । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताएका छन् ।

नेपाल किसान महासङ्घ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा उनले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनुपर्नेमा जोड दिए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको उल्लेख गर्दै राज्यको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने बताए । किसानलाई समयमै बीउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनुपर्ने उनको भनाइ छ ।

नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले मल अभाव, चैते धानको मूल्य नपाएकोलगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेता सिटौलालाई ज्ञापनपत्र बुझाउनुभयो ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।