बैंकहरुबीचको कारोबार र ब्याजदर बढ्न थालेपछि राष्ट्र बैंकले जेठ २३ गते बिहीबार बैंकिङ्ग प्रणालीमा रिपो बोलकबोल मार्फत १५ अर्ब रुपैयाँ प्रबाह गर्ने भएको छ।
लगानी योग्य रकमको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर कारोबार गर्नेक्रम बढेको छ। तरलताको अवस्था असहज हुँदा अन्तर बैंक कारोबारको ब्याजदर नै ७ प्रतिशत नाघेको छ । अन्तर बैंक कारोबार बढेपछि ब्याजदर पनि लगातार बढिरहेको छ। ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गरेको हो।
राष्ट्र बैंकले गत मंसिरमा अन्तर बैंक सापटी लिएर पनि सीसीडी रेसियो मेन्टेन गर्न पाउने व्यवस्था गरेको थियो। यस्तो व्यवस्थाले अन्तर बैंक कारोबारसँगै ब्याजदर पनि बढेको बैंकरहरु बताउँछन् ।
अन्तर बैंक कारोबारको बढ्दो ब्याजदरले बजारमा तरलता अभाव भएको संकेत गरेको छ । तर राष्ट्र बैंकका अनुसार बैंकहरुमा करिब २८ अर्ब तरलता रहेको छ ।
केन्द्रीय बैंकले एक हप्तामा परिपक्व हुने गरी जारी गर्न लागेको रिपो जेठ ३० गते परिपक्क हुनेछ। रिपो बिहीबार नै अपराह्न ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ। रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ।
बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । ती संस्थाहरुले अनलाईन विडिङ्ग मार्फत बोलकबोलमा सहभागिता जनाउन सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।
प्रतिक्रिया