इन्फिनिटी लघुवित्तको साधारण शेयर सूचीकरणमा ढिलाई


इन्फिनिटी लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको शेयर बाँडफाँड भएको लामो समय बित्दा पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुन सकेको छैन । प्रकृयागत ढिलासुस्तीका कारण शेयर सूचीकरणमा ढिलाई भएको लघुवित्तको शेयर रजिष्ट्रारले जनाएको छ ।

लघुवित्तले गत जेठ १३ देखि १६ गतेसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुने रकम बराबरको साधारण शेयर निष्काशन गरेको थियो । जेठ २२ गते नै लघुवित्तले उक्त शेयर बाँडफाँड गरेको थियो । शेयर बाँडफाँड भएको झण्डै २० दिन बित्न लाग्दा दोस्रो बजारमा कारोबारका लागि सूचीकरण हुन सकेको छैन ।

लघुवित्तको शेयर सूचीकरणमा भएको ढिलासुस्तीले साधारण शेयर पाएका लगानीकर्ता अन्यौलमा परेका छन् । सामान्य अवस्थामा कम्पनीहरुले शेयर बाँडफाँड भएको केही दिन भित्रमा नै शेयर सूचीकरण गराउँदै आएकोमा ३ सातासम्म शेयर सूचीकरण नभए पछि लगानीकर्तामा अन्यौलता थपिएको हो ।

उता लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटलले प्रकृयागत ढिलासुस्तीका कारण शेयर सूचीकरणमा ढिलाई भएको जनाएको छ । नोटबजारसँग कुरा गर्दै सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले केही दिनमा शेयर सूचीकरण हुने बताए ।

विगतमा सिडिएससी र नेप्सेमा एकै पटक प्रकृया अघि बढाउने गरेकोमा अहिले सिडिएससीमा काम सकेर नेप्से जानु परेकाले केही ढिलाई भएको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नोटबजारसँगको कुराकानीमा भने, सिडिएससीतर्फको सबै काम सकिएको छ । केही दिनमा नेप्सेमा प्रकृया पुरा गरे लगत्तै लघुवित्तको शेयर सूचीकरण हुन्छ ।

६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले सर्वसाधारणमो ६ लाख २९ हजार ९३० कित्ता शेयर निष्काशन गरिएको थियो । कूल ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन भएकोमा ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याएर बाँकी शेयर सर्वसाधारण्मा निष्काशन गरिएको थियो ।

लघुवित्तको आईपिओमा ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट ६९ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ६९ लाख ४७ हजार १५० कित्ता शेयर माग भएको थियो ।