असारको तेस्रो सातामा १७ अर्ब निक्षेप थपियो 


चालु आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरुमा निक्षेप थपिने क्रम वढेको छ । असार महिना समाप्ती नजिकिएसंगै बैंकहरुको निक्षेप थपिने क्रम वढेको हो ।

असार महिनाको तेस्रो सातामा मात्र बैंकिङ प्रणालीमा १७ अर्ब निक्षेप थपिएको छ भने ५ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ । आर्थिक वर्षको अन्तिममा बैंकहरुले कर्जा विस्तार भन्दा पनि असुलीमा केन्द्रित हुने भएकाले पनि ऋण प्रबाह कम भएको हो ।
चालु आर्थिक वर्षको अन्तिम महिना असारको दोस्रो साता ७ अर्व रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब मात्र कर्जा प्रबाह गरेका हुन । बैंकहरुले असारको पहिलो सातामा १० अर्ब निक्षेप संकलन गर्दा एक अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका थिए । बैंकहरुले असार २० गतेसम्ममा मात्र कुल २९ अर्ब निक्षेप संकलन गरेका छन । तर, असार २० गतेसम्ममा बैंकहरुले ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन । 

आर्थिक वर्षको अन्तेमा सरकारी खर्च वढ्ने भएकाले बैंकहरुमा निक्षेप थपिने क्रम भने वढेको छ । जेठ महिनाको अन्तिम साता ५ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकिङ प्रणालीमा असारको तेस्रो सातासम्ममा २९ अर्बले निक्षेप वढेको हो ।

बैंकहरुले कर्जा विस्तारमा कमी गरेपछि अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात पनि केन्द्रीय बैंकको सीमा भन्दा तल नै रहेको छ । चालु आर्थिक वर्षको असार २० गतेसम्ममा बैंकहरुले कुल २७ खर्ब ९३ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा मात्र २१८ अर्ब निक्षेप थपिएको थियो । गत आर्थिक वर्षको चैतमा ४९, बैंशाखमा २५, जेठ ४३ र असारमा १०१ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा थपिएको थियो । तर, तालु आर्थिक वर्षको पछिल्ला महिनाहरुमा निक्षेप वढ्ने अनुपातमा कमी आएको छ । चालु आर्थिक वर्षका चैतमा २९ अर्व निक्षेप आएको बैंकिङ प्रणालीमा बैंशाख महिनामा ५ अर्ब रुपैयाँ मात्र थपिएको थियो । तर, चालु आर्थिक वर्षको जेठमा भने केही सुधार आइ ५१ अर्ब रुपैयाँ निक्षेप बैंकहरुमा आएको छ ।

पछिल्ला तिन वर्षलाइ हेर्दा बैंकमा आर्थिक वर्षको अन्तिम महिनामा मात्र एक सय अर्व भन्दा धेरै निक्षेप आउने गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा १३८ अर्व निक्षेप आएको थियो भने आव २०७३÷७४ मा १२३ अर्व निक्षेप आएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७४÷७५ मा पनि १०१ अर्ब निक्षेप थपिएको थियो ।

सरकारले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने तथा भुक्तानी दिने कारणले आर्थिक वर्षको पहिलो र अन्तिम महिनामा निक्षेप वढ्ने गरेको छ । यसले बैंकहरुलाई कर्जा तथा निक्षेपमा सन्तुलन कायम गर्न निकै समस्या सृजना गर्ने गरेको छ । आर्थिक वर्षको सुरुमा बैंकहरुले आक्रममा भएर कर्जा प्रबाह गर्ने र दोस्रो त्रैमासपछि कर्जा लगानी योग्य रकमको अभाव वढदै जाने र कर्जा प्रबाह नै नियन्त्रण गर्नु पर्ने समस्या दोहोरीरहेको छ ।
यसपालि पनि विगतमा जस्तै असारमा बैंकहरुको निक्षेप वढ्ने अवस्था देखिएको छ । आगामी आर्थिक वर्षमा पनि बैंकहरुले विगतलाई समिक्ष गरेर कर्जा विस्तार नगरे स्रोत अभावको समस्या फेरी पनि आउनेमा निश्चित छ ।