अर्थमन्त्रीले लेखापरीक्षकलाई भने-‘लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक देखाउनोस्, मेकअप नगर्नोस्’

0
Shares

अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिएका छन् ।

वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनेैपर्ने अपरिहार्यता औँल्याए ।

नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान) ले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनै पनि संस्थाको वित्तीय स्वास्थ्य ‘जे हो त्यही नभने’ गम्भीर दुर्घटना हुने बताए ।

“ भित्र जे छ, बाहिर पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उनले भने । वित्तीय साक्षरता कायम गर्ने सरकारी नीति कार्यान्वयनमा सघाउन नियामक निकाय आइक्यानलाई आग्रह पनि गरे ।

मूल्यअभिवृद्धि कर (भ्याट) लगायत आर्थिक ऐनले निर्धारण गरेका कर सङ्कलनसम्बन्धी अव्यावहारिक प्रावधान भए छलफल गर्न आफू तयार रहेको मन्त्री खतिवडाले बताए ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आइक्यानले समेत कर तिर्नुपर्ने व्यवस्था भएकामा सरकारको ध्यानाकर्षण गराउँदै गैरनाफामूलक संस्था करको दायरमा परेको गुनासो गरे।

प्रकाशित मिति: ७ साउन २०७६, मंगलबार  २१ : ३३ बजे