रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको नेप्सेमा शेयर किनबेच गर्न सुरु

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको साउन २१ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर कारोबार खुला भएको छ । साधारण शेयर बाँडफाँड भएको तीन महिनापछि दुबै कम्पनीको शेयर कारोबार खुलेको हो ।

नेप्सेले रसुवागढी हाइड्रोपावर कम्पनीलाई आरएचपिएल र साञ्जेन जलविद्युत कम्पनीको शेयर कारोबारका लागि एसजेसिएल कारोबार संकेत प्रदान गरेको छ ।

पहिलो सुरुवाती कारोबारका लागि रसुवागढीको न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको प्रिओपनिङ प्राइस रेञ्ज निर्धारण गरेको छ। साञ्जेनका लागि न्यूनतम ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसासम्मको प्रिओपनिङ्ग प्राइस रेञ्ज दिएको छ।

रसुवागढीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा १ करोड २ लाख ६३ हजार १५० कित्ता बराबरको १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो। रसुवागढीको आईपीओ शेयर २ लाख ९१ हजार २७२ जनाले पाएका थिए। रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले न्यूनतम ४० र अधिकतम ५० सम्म शेयर पाएका थिए।

यस्तै साञ्जेनले एक सय रुपैयाँ अंकित दरमा ५४ लाख ७५ हजार कित्ता बराबरको ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो। २ लाख ८८ हजार ८९७ जना लगानीकर्ताले आईपीओ शेयर प्राप्त गरेका थिए।

साञ्जेन जलविद्युतको शेयरमा आवेदन गरेका अधिकांश आवेदकले २० कित्ता शेयर प्राप्त गरेका थिए भने २० कित्ता भन्दा धेरै कित्ताका लागि आवेदन गरेका ८ प्रतिशत आवेदकले भने १० कित्ता मात्र शेयर पाएका थिए।

आईपीओ निष्काशन पश्चात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत समेटिएका रसुवागढी र साञ्जेन दुबै चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हुन्।