आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशक कुँबर भन्छन् ‘नतिजा देखिने गरी काम गर्छु’


आन्तरिक राजस्व विभागको महानिर्देशकमा विनोद कुँबर आएका छन् । कर्मचारी वृत्तमा राम्रो छवी बनाएका कुँबरलाई राजस्व प्रशासनको शक्तिशाली विभागको जिम्मेवारी दिइएको हो । यस अघि कुँबर प्रधानमन्त्री कार्यालयमा थिए ।

वरिष्ठ सहसचिवहरूलाई प्रदेश मन्त्रालयको सचिवमा खटाउने भनी सरकारले निर्णय गरे पछि विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएका थिए । त्यस पछि विभागको महानिर्देशक पद खाली थियो । अर्थमन्त्री डा. युबराज खतिवडाले प्रधानमन्त्री कार्यालयमा रहेका कुँबरलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विराटनगर भन्सार प्रमुख हुँदा राम्रो काम गरेर सफलता पाएका कुँबर अर्थ प्रशासनभित्र स्वच्छ छबि भएका प्रशासकका रुपमा परिचित छन् । कुँबरले सोमबारदेखि नै विभागको महानिर्देशकको पद सम्हालेका छन् । नोटबजारसँग कुरा गर्दै कुँबरले आफुलाई दिइएको जिम्मेवारी प्राथमिकताका साथ निर्वाह गर्ने बताए । राजश्व प्रणालीको सुधारका काममा अहोरात्र खटिने बताएका उनले नतिजाउन्मुख काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

विभागको उपमहानिर्देशकमा मुक्ति पाण्डेलाई ल्याइएको छ । विभागका उपमहानिर्देशक यज्ञ ढुंगेल अर्थको नीति विश्लेषण महाशाखामा तानिए पछि पाण्डेलाई उक्त स्थानमा ल्याइएको हो ।

उता भन्सार विभागको प्रमुखमा सुमन दाहाल आएका छन् । विष्णुप्रसाद नेपाल कर्णाली प्रदेश सरुवा भए पछि विभागको रिक्त महानिर्देशक पदमा दाहाललाई ल्याइएको हो । यस अघि दाहाल अर्थ मन्त्रालयको अर्थ प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।