बैंक खाता नखोली वैदेशीक रोजगारीमा जान नपाइने


सरकारले वैदेशीक रोजगारीमा जानेहरुलाई नेपालमा बैंक खाता अनिवार्य गरेको छ । सरकारले सोमबारदेखि नै लागू हुने गरी यस्तो व्यवस्था गरेको हो । सरकारको बैदेशिक रोजगार विभागले बैंक खाता नखोली श्रम स्वीकृती लिन नसकिने व्यवस्था गरेको हो ।

विभागका अनुसार, श्रम स्वीकृतिका लागि वैदेशीक रोजगारीमा जाने नेपाली कामदारले आफैं वा हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै बैंक खाताको विवरण पेश नगरे श्रम स्वीकृति दिन नमिल्ने जनाएको छ ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा पनि विवरण अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ । कसैले बैंक खाताको विबरण उपलब्ध नगराएको खण्डमा श्रम स्वीकृति नपाउने विभागले प्रष्ट पारेको छ ।

बिप्रेषण रकमलाई व्यवस्थित गर्न र हुन्डी कारोवारलाई रोक्न बैंक खाता अनिवार्य गरिएको हो । आफुले कमाएको पैसा बैंक खाता मार्फत नेपाल नआएको खण्डमा अर्को पटक श्रम स्वीकृति नदिने भन्दै विभागले बैंक मार्फत रकम पठाउन भनेको छ ।