एटीएम ठगी काण्डमा जोडिएका थप तीन नेपाली पक्राउ


नेपाल प्रहरीले एटिएमको प्रणाली ह्याक गरेर पैसा चोरी गर्ने प्रकरणमा थप तीन जना नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार ठमेल क्षेत्रबाट मनी एक्सचेञ्ज व्यवसायमा आबद्ध ३ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ठमेलमा रहेको डेस्सो मनी एक्सचेञ्जका सञ्चालक देवनाथ लामिछाने र नेपालय मनि चेन्जरका सञ्चालक रोसन प्रधान श्रेष्ठ व्यवस्थापक रेवती दवाडीलाई नियन्त्रणमा लिइएको हो ।

शनिवार फरार भएका व्यक्तिहरुले डेस्सो मनी मनिचेन्जरबाट २९ लाख ९९ हजार रुपैयाँ नेपाली पैसा डलरमा सटही गरी २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएर गएको देखिएको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ३ जना नेपालीको साथबाट सटही भएको २९ लाख ९९ हजार नेपाली रुपैंया समेत बराबद भएको छ ।

प्रहरीले शनिबार एटीएमबाट रकम निकालेका ५ जनालाई पक्राउ गरेको थियो । थप एक जनालाई त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलबाट पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका पाँच जनाको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ ।