साना तथा मझौला उद्यमका लागि पूँजी बजारको योगदान शुन्य

0
Shares

साना तथा मझौला(एसएमई) व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत संकलन गर्ने सन्दर्भमा पूँजी बजारको योगदान शुन्य देखिएको छ । सरकारले लगानीका लागि आवश्यक पूँजी धितोपत्रको प्राथमीक बजारवाट संकलन गर्न सकिने भनेपनि एसएमईले त्यसको सदुपयोग गर्न सकेका छैनन् ।

सरकारले आर्थिक समृद्धिलाइ प्राथमिकतामा राखेको भएपनि धितोपत्रको दोस्रो बजार भने निरन्तर ओरालो लागि रहेको छ । दोस्रो बजारको असर प्राथमीक बजारमा पनि देखिएको छ । पछिल्लो समयमा सेयर बजार मार्फत पूँजी संकलनका लागि प्रयास गरेको भएपनि सफल भने हुन सकेका छैनन् । 

धितोपत्र बजारका लगानीकर्ताको मनोवल कमजोर भैरहेको र समग्र बजार प्रभावीत भएको अवस्था नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसायको अवस्थाको विषयमा गरेको अध्ययनले यो क्षेत्रका लागि लगानीको स्रोत पुँजी बजार मार्फत जुटाउने माध्यम भएपनि त्यसको सदुपयोग नगरेको देखिएको छ ।

हालसम्म २ लाख ७५ हजार ४ सय ३३ साना तथा मझौला उद्योगहरु दर्ता भएका छन् । दर्ता भएका कुनै पनि साना तथा मझौला उद्यम व्यवसायीले सेयर बजारलाइ पूँजी संकलनका लागि प्रयोग नगरेको अध्ययनले औल्याएको छ ।

वित्तीय क्षेत्र विकास रणनीति, २०७४—२०७७/७८ अनुसार साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनको २२ प्रतिशत योगदान गरेको तथा झन्डै १७ लाख रोजगारी सिर्जना गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालमा रहेका करिब आधा जति एसएमईले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा कारोबार गरेको पाइएको छ । कर्जा लिएकामध्ये करिब ८५ प्रतिशत एसएमइले वाणिज्य बैंकहरुबाट कर्जा लिएको प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश साना उद्योगहरुले ५० लाख रुपैयाँ भन्दा कम र अधिकांश मझौला उद्योगहरुले ५० लाख रुपैयाँ भन्दा बढी कर्जा लिएको अध्ययनले देखाएको छ । यसरी बैंक मार्फत प्रवाह भएको कूल कर्जामध्ये करिव दुई—तिहाई कर्जा छोटो अवधिको लागि मात्र प्रवाह भएको देखिएपनि उद्यमीको आवश्यकता भने मध्यम तथा लामो अवधिको कर्जा रहेको अध्ययनले देखाएको छ ।

एसएमईले बैंक मार्फत लिएको कर्जाको औसतमा वार्षिक १२.५१ प्रतिशत ब्याजदर तथा झण्डै १ प्रतिशत सेवा शुल्क तिर्ने गरेको अध्ययनले देखाएको छ ।