भूगर्भविद्लाई ३ प्रश्न

‘दैलेखको मिथेन ग्यास ‘ऊर्जा समृद्धि’को आधार बन्न सक्छ’


काठमाडौँ । दैलेख जिल्लाको जलजलेमा मिथेन ग्यास भेटिएपछि स्थानीयमा उत्साह र चिन्ता दुवै देखिएको छ । स्थानीय समुदायको विकास, रोजगारी सिर्जना, आर्थिक प्रगति, ऊर्जामा आत्मनिर्भर हुने भन्दै स्थानीय उत्साहित भएका छन् ।

उत्साहसँगै स्थानीयमा मानव स्वास्थ्यमा ग्यासले असर गर्छ कि ! भूस्खलन, पर्यावरणीय सुरक्षालगायत विषयमा उत्तिकै चिन्ता पनि छ ।

३ प्रश्नको आजको अंकमा हामीले भूगर्भविद् डा. नारायण अधिकारीसँग मिथेन ग्यासले मानव स्वास्थ्यमा के–कस्तो असर गर्छ, पर्यावरणमा कस्तो असर पर्छ र यसको उपयोगितालगायत विषयमा कुराकानी गरेका छौँ ।

  • दैलेखमा मिथेन ग्यास भेटिएकामा स्थानीय खुसी भएका छन् । तर, मानव स्वास्थ्यमा असर पर्छ कि भन्ने चिन्ता पनि देखिएको छ, चिन्ता गर्नुपर्ने विषय हो कि होइन ?

मिथेन ग्यास स्वच्छ इन्धन हो । यदि वैज्ञानिक विधिबाट निकालेर उपयोग गरेको खण्डमा ऊर्जाको आधार बन्नेछ ।

कुनै पनि कुराको सकारात्मक र नकारात्मक दुवै पाटो हुन्छन् । वातावरणमा केही मात्रामा असर परे पनि यसको नकारात्मक पाटो न्यून र सकारात्मक पाटो उच्च छ । दीर्घकालीन रूपमा यसको गम्भीर असर छैन ।

यसमा स्थानीयले नकारात्मक सोच्नुपर्ने केही छैन । यदि यसले गम्भीर असर गर्ने भए अन्त पनि यो काम सुरु हुने थिएन । यसमा राम्रा कुराहरू मात्र आउनुपर्छ भन्ने मेरो धारणा छ ।

  • यसले पर्यावरणमा कस्तो असर गर्छ । भूस्खलनको सम्भावना कति छ ?

यसले पारिस्थितिक प्रणालीमा नगन्य रूपमा केही असर गरे पनि एकदम ठुलो असर हुँदैन । मिथेन ग्यास प्राकृतिक स्रोतमध्ये सबैभन्दा स्वच्छ मानिन्छ । यसको उत्खनन गर्दा कुनै भूस्खलको सम्भावना छैन ।

मिथेन ग्यास वातावरणमा सीधा फालिएमा मात्र असर गर्छ । तर, यसलाई वातावरणमैत्री बनाएर मात्र उपयोग तथा प्रशोधनको काम हुन्छ । दैलेखमा भेटिएको मिथेन ग्यासको उपयोग तथा प्रशोधन गर्दा न त वातावरणमा असर पर्छ न जनसमुदायलाई असर गर्छ । यसले त हाम्रो ऊर्जा आवश्यकतामा ठुलो योगदान पुर्‍याउँछ ।

  • अन्य ठाउँहरूमा पनि यसको सम्भावना छ भन्ने सुनिएको छ । भूगर्भ अध्ययनले के देखाउँछ ?

यस विषयमा मैले धेरै अध्ययन गरेको छैन । तर, भूगर्भको अध्ययन गर्दा अन्य ठाउँहरूमा पनि यसको सम्भावना देखिएको छ । यो सुरुआती चरण मात्र हो । यसले नेपालमा मिथेन ग्यास छ भन्ने पुष्टि गरेको छ ।

अन्य ठाउँहरूमा पनि वैज्ञानिक तरिकाबाट खोजी गर्ने तयारी हुँदै छ । यसले नेपाललाई दीर्घकालीन रूपमा ऊर्जामा आत्मनिर्भर बनाउने बाटोमा लैजान्छ ।

यसलाई खाना पकाउने, गाडी चलाउने इन्धनको रूपमा प्रयोग गरिन्छ । यो पेट्रोल र डिजेलको तुलनामा सस्तो पनि हुन्छ । जसले गर्दा वातावरणीय स्वच्छता र विदेशी मुद्राको सञ्चिती बढ्छ । यसका कैयौँ फाइदा हुने भएकाले आमनागरिकले यसप्रति सकारात्मक सोच राखेर उत्खननमा सहयोग गर्नु जरुरी छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।