अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने,बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने भएको छ। कम्पनीले ३० लाख कित्ता शेयर जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।

सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । अजोड इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ ।

अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४/१२/२० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । २०७४/१०/२४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको र यस कम्पनीले २०७४/०३/२१ गतेदेखि बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो ।

यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.११ स्थित सि.टि.सि. मल सातौं तल्ला सुन्धारा, काठमाण्डौंमा रहेको छ ।

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु लगायत सातै (७) प्रदेश स्थित प्रदेश नं. १ मा बिर्तामोड, इटहरी र बिराटनगर प्रदेश नं. २ मा लाहान, जनकपुर, चन्द्रपुर र बिरगंज प्रदेश नं. ३ मा हेटौडा, नारायणगढ र बनेपा काठमाण्डौ उपत्यका भित्र जोरपाटी, नयाँ बानेश्वर, बालाजु, कलंकी, किर्तिपुर, बुढानिलकण्ठ, पाटन र भक्तपुर, गण्डकी प्रदेशमा पोखरा, दमौली, कुश्मा प्रदेश नं. ५ मा बुटवल, भैरहवा, दाङ्ग, गुल्मी र नेपालगंज र पूर्बी रुकुम कर्णाली प्रदेशमा सुर्खेत, सुदुर पश्चिम प्रदेशमा धनगढी, गरि जम्मा २९ वटा प्रादेशिक, शाखा, उपशाखा कार्यालय र १९ वटा तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ ।

आ.व.२०७६/०७७ मा थप ९ उपशाखा कार्यालयहरु दमक, सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुङटार, बुर्तिबाङ पश्चिम रुकुम र टिकापुरमा उपशाखा कार्यालयहरु संचालनको तयारीमा रहेको छ ।