एक प्रतिशत करोडपतिहरुको मुठ्ठीमा विश्वका आधा सम्पत्ति

0
Shares

विश्वमा रहेको कूल जनसंख्याको एक प्रतिशत करोडपतिहरुको स्वामित्वमा विश्वमा रहेको कूल सम्पत्तिको ४४ प्रतिशत हिस्सा अर्थात १५८३ खर्ब डलर सम्पत्ति रहेको एक अध्ययनले देखाएको छ। 

विश्वमा करिब ३५९८ खर्ब डलर कुल सम्पत्ति रहेको अनुमान गरिन्छ। जसमध्ये विश्वको कूल सम्पत्तिको करिब आधा स्वामित्व (४४ प्रतिशत) चार करोड ६८ लाख करोडपतिहरुको कब्जामा रहेको क्रेडिट स्वीसको ग्लोबल वेल्थ रिपोर्टमा उल्लेख गरिएको छ।

यद्यपी विश्वव्यापी करोडपतिहरुको संख्यामा भएको वृद्धिसँगै आर्थिक असमानता पनि घट्दै गएको बताइएको छ। किनकी सन् २००० मा शीर्ष १ प्रतिशत धनीहरुले विश्वको कुल सम्पत्तिको करिब ४७ प्रतिशत सम्पत्ति कब्जा गर्दै आएकोमा यो दर हाल ४५ प्रतिशतमा झरेको छ। यसबाट मध्यम वर्गको सम्पत्ति बढिरहेको देखिन्छ।

रिपोर्टका अनुसार पछिल्लो ३ वर्षमा आर्थिक असमानताको अवस्था घट्दै गएको छ। यसका साथै विश्वका निम्न–मध्यम र मध्यम वर्गका व्यक्तिहरुको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ।

अमेरिका–चीनका बीच जारी व्यापार युद्ध, सुस्त विश्व आर्थिक वृद्धि र अस्थिर शेयर बजारका बाबजुद पनि सन् २०१८ को मध्यदेखि २०१९ को मध्यसम्ममा ११ लाख करोडपतिको संख्या बढेको क्रेडिट स्वीसको ग्लोबल वेल्थ रिपोर्टले देखाएको छ ।

अमेरिका धेरै करोडपति हुने देश, अस्ट्रेलियामा घटे

ग्लोबल वेल्थ रिपोर्ट अनुसार कुल करोडपतिहरुको संख्या र त्यसको वृद्धिमा अमेरिका अझै पनि अग्र स्थानमा रहँदै आएको छ।
अमेरिकामा गत वर्ष मात्रै ६ लाख ७५ हजार नयाँ करोडपति थपिएका छन्। यससँगै हाल अमेरिकामा करोडपतिको संख्या १ करोड ८६ लाख पुगेको छ। यसैगरी जापानमा १ लाख ८७ हजार नयाँ करोडपति थपिएर करोडपतिको संख्या ३० लाख नाघेको छ।

अर्को ठूलो अर्थतन्त्र रहेको चीनमा १ लाख ५८ हजार नयाँ करोडपति थपिएसँगै करोडपतिको संख्या ४५ लाख पुगेको छ। अमेरिकासँगको चर्को व्यापार युद्ध र सुस्त आर्थिक वृद्धिका बाबजुद चीनमा डेढ लाख करोडपति थपिएका हुन्।

करोडपतिको संख्यामा अस्ट्रेलियाले गत वर्ष सबैभन्दा ठूलो नोक्सानी ब्यहोरेको छ। अस्ट्रेलिया १ लाख २४ हजार करोडपति गुमाएर १२ लाखमा सीमित बन्न पुगेको छ। उक्त गिरावटको अधिकांश हिस्सा विनिमय दरका कारण भएको थियो। करोडपतिहरुको सम्पत्तिलाई अमेरिकी डलरमा मापन गरिएसँगै उनीहरुको संख्यामा गिरावट देखिएको प्रतिवेदनले जनाएको छ।