प्रभु बैंकको ऋणपत्र कात्तिक २१ गतेदेखि बिक्री सुरु हुने, १०.२५ प्रतिशत प्रतिफल


प्रभु बैंकले यहि कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई जारी गर्न लागेको हो ।

दश लाख इकाईमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी हुनेछ भने ६ लाख इकाई बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने १० वर्षे अवधिको उस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

बैंकले जारी गर्ने उक्त ऋणपत्रमा छिटोमा कात्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेको खण्डमा ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ । ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन् ।