ऋण अवधिभरी व्याजदर स्थिर राख्न पाइने, सर्वसाधारणलाई राहत


कर्जाको व्याजदर पटक पटक बढेर हैरान भएका ऋणीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले व्याजदर सिथ्र राख्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ऋण अवधिभर स्थिर ब्याजदर राख्ने विकल्प ऋणीले रोज्न पाउने विकल्प अनिवार्य गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७५ मा संशोधन गरी राष्ट्र बैंकले व्याजदरमा यस्तो नीति अवलम्बन गरेको हो । यसबाट सर्वसाधारणले ऋण लिने समयमा व्याजदर स्थिर हुनु पर्ने विकल्पका आधारमा ऋण लिन सक्ने छन् ।

राष्ट्र बैंकले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएको आवधिक प्रकृतिको कर्जाको लागि तोकिएको अवधिभर ब्याजदर परिवर्तन नहुने गरी ऋणी संगको सहमतिमा स्थिर ब्याजदर तोक्न सकिने व्यवस्था गरेको हो । बैंकहरुले मनोमानी ढंगमा व्याजदर बढाउने गरेको गुनासो चौतर्फी उठिरहेका बेला केन्द्रयि बैंकको कडा नीतिले सर्वसाधारणलाई राहत पुग्ने देखिएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने छ । बैंकले ग्राहकसँगको सहमतिमा स्थिर ब्याज दर राख्नु पर्ने हुन्छ ।

सहमति अनुसार स्थिर ब्याजदर तोकिएको अवस्थामा ऋण अवधिभर बैंकको ब्याजदर परिवर्तन भएपनि सहमति गरेका ऋणीको ब्याजदर परिवर्तन गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले निर्देशिकाको इजाजत प्राप्त निर्देशन नं. १५/०७५ को बुँदा नं. ३ को उपबुँदा नं. १० लाई संसोधन गर्दै आधारदरमा परिवर्तन हुँदा ब्याजदर परिवर्तन हुने अथवा नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा नै स्पष्ट रूपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गरेको हो ।