महुली सामुदायिक लघुवित्तको कमाई स्थिर भए पछि प्रतिशेयर आम्दानीमा भारी गिरावट


गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ रुपैंया रहेको महुली लघुवित्तको प्रतिशेयर आम्दानी यस पटक २७ रुपैंया १६ पैसामा सिमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले चुक्ता पूँजी दोब्बरभन्दा बढीले बढाएको छ भने खुद नाफामा सामान्य गिरावट आएको छ । पूँजी बढेर कमाई घट्दा लघुवित्तको प्रतिशेयर आम्दानीमा भारी मात्रामा संकुचन आएको हो ।

लघुवित्तले समीक्षा अवधिमा चुक्ता पूँजी ६ करोड रुपैंयाबाट बढाएर १२ करोड २४ लाख रुपैंया पुर्याएको छ । जगेडा कोषमा गत आर्थिक वर्षमा १६ करोड ३१ लाख रुपैंइा सञ्चित रहेकोमा अहिले १८ करोड ६ लाख रुपैंया सञ्चित छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तले अहिले ८३ लाख १२ हजार रुपैंया खुद नाफा कमाएको छ ।

व्यवसायको आकारमा केही सुधार आएर व्याज आम्दानी बढे पनि कर्मचारी खर्च, प्रोभिजन लगायत शिर्षकमा आएको बढोत्तरीले कमाईमा संकुचन आएको हो ।

समीक्षा अवधिको कोषको लागत १०.७९ प्रतिशतबाट बढेर ११.१३ प्रतिशत पुगेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २४७ रुपैंया ५७ पैसा तथा मूल्य आम्दानी अनुपात १२८.११ गूणाले बढी छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्जमा महुलीको प्रतिकित्ता शेयरमा झण्डै ३ प्रतिशतको गिरावट सहित ८६३ रुपैंयामा कारोबार भैरहेको छ ।