शेयर बजारमा मिनेट नपुग्दै लाग्न थाल्यो सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

0
Shares

मौद्रिक नीति र धितोपत्र बोर्डको नीति तथा कार्यक्रमको असरले शेयर बजारमा एक मिनेट नपुग्दै सर्किट ब्रेक लाग्न थालेको छ। यससँगै ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ।

सोमबार शेयर बजार खुलेको ५३ सेकेन्डमा पहिलो सर्किट लागेको थियो। २० मिनेटका लागि रोकिएको कारोबार २० मिनेट पश्चात खुलेपछि ११ बजेर २१ मिनेट ३५ सेकेण्डमा नै दोस्रो सर्किट लागेको हो।  यसअनुसार दोस्रो सर्किटको समय जम्मा ४२ सेकेण्डको मात्र रह्यो।

यस अवधिमा १२२ कम्पनीका २ लाख २३ हजार ६९६ कित्ता शेयर ९ करोड १९ लाख ४२ हजार रुपैयाँमा खरीद बिक्री भएको हो।

सोमबार शेयर बजार खुल्नुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको थियो।

नेप्से ५ प्रतिशत अर्थात ७४.०२ अंकले बढेर १ हजार ५५३.०६ बिन्दुमा पुगेको छ। यस अवधिमा कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया लघुवित्त र माछापुच्छ्रे बैंकको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ।

एनआईसी एशिया बैंक, एनएमबि बैंक, पुनर्बीमा कम्पनीको १ करोड बढीको शेयर कारोबार भएको छ। कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको स्थिर रहेको छ। कुनै पनि कम्पनीको शेयरमूल्य घटेको छैन।

अब बजार १२ बजेपछि खुल्नेछ।