'बुलिस ट्रेण्ड’ मा बजार प्रवेश जोखिमपूर्ण, न्यूनीकरणका लागि यस्ता छन् विज्ञका सुझाव

-सुरेन्द्र थापा।
काठमाडौं।
१३मंसिर, २०७७, शनिबार / Nov 28, 2020 18:11:pm

देशको अर्थतन्त्र नै संकट उन्मुख भएको अवस्थामा धितोपत्र बजार सूचकले एक पछि अर्को नयाँ किर्तिमान बनाएको छ । अर्थतन्त्र भन्दा फरक गतिमा गएर बुलिस ट्रेण्ड लिएको शेयर बजारमा नयाँ प्रबेशीलाइ भने उच्च जोखिम हुनु स्वभाविक हो । 

सामान्यतया बजार बढेको अवस्थामा शेयर बिक्री गर्ने र घटेको समयमा खरिद गर्ने भनिन्छ । तर, नेपालको सन्दर्भमा बजार बढेको अवस्थामा झुम्मिने र घटेको अवस्थामा बिक्री गर्ने उल्टो प्रवृति हाबी हुँदै आएको छ । अहिले बैंकिङ क्षेत्रको उच्च तरलता, सस्तो ब्याजदर, सहज प्रक्रियाको कर्जा र बैंक वित्तीय संस्था नै सक्रिय भएर कारोबार गरेपछि शेयर बजार बढेको हो ।

पछिल्ला दिनहरुमा कोरोनाका कारण सुस्ताएका उद्योग, ब्यापार तथा व्यवसायको पैसा समेत धितोपत्र बजारमा प्रवेश गरेको अवस्था छ । लगानीका अन्य क्षेत्र नभएपछि आइडल भएको पैसालाई शेयर बजारमा अड्याएको हुनाले पनि बजारमा तिब्र सुधार आएको हो । आर्थिक गतिविधिमा सुधार आउने वित्तीकै बैंकहरुको लगानी पनि त्यतै केन्द्रीत हुनेछ भने शेयर बजारको लगानी समेत बाहिरीने निश्चित छ ।

राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा एक खर्ब ६५ अर्ब बढी तरलता छ । केहिसमय अघि मात्र राष्ट्र बैंकले बजारबाट २१ अर्ब तरलता खिचेको थियो । साउन देखि अहिलेसम्म नै बजारमा लगभग दुई खर्ब बराबरको अधिक तरलताको अवस्था रहेको छ । अधिकत तरलताले निक्षेपको ब्याजदर समेत घटाएको छ । अहिलेको अवस्थामा शेयर बजारमा आएको सुधारको सकारात्मक आधार भनेको घट्दो ब्याजदर मात्र हो । शेयर बजार र ब्याजदरको सम्बन्ध उल्टो हुन्छ ।ब्याजदर बढेको अवस्थामा शेयर बजार घट्ने र ब्याजदर घटेको अवस्थामा शेयर बजार बढ्ने अन्तराष्ट्रिय मान्यता छ ।

नेपाल राष्ट्र बैंकले कर्जा विस्तारका लागि तोकेका प्राथमिकता प्राप्त क्षेत्रहरु कृषि, साना, घरेलु, लघु तथा मझौला व्यवसायहरुका साथै ठूला उद्योगहरुमा कर्जा विस्तार हुन सकेको छैन् । स्वभाविक रुपमा अधिक तरलता भएको बेलामा बैंकहरुले कतै न कतै रकम उपयोग गर्नुपर्यो । अहिले उनीहरुले शेयरबजारलाई रोजेकाले यो क्षेत्रमा लगानी बढेको हो ।

बैंकहरुले मार्जिन ल्यान्डिङ मात्रै असारको तुलनामा असोजमा नौ अर्ब बढीले बढेको छ । त्यो बाहेक केहि ओभर ड्राफ्ट, चालुपूँजीमा गएको कर्जा समेत शेयर बजारमा आएको अनुमान गरिएको छ । ब्याजदर तल झारेर आन्तरिक उत्पादन बढाउने क्षेत्रमा लगानी बढाउनुपर्छ भनेर राष्ट्र बैंक र सरकार लागेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले स्प्रेडदरको व्यवस्थालाई प्रभावकारी बनाउने प्रयास गरेको छ । 

कोभिडपछि शेयर बजारमा सुरु भएको अनलाइन कारोबार प्रणालीले पनि बजारको वृद्धिलाई सहयोग पु¥याएको छ । तरपनि शेयर बजार अर्थतन्त्रको आधारमा चल्नुपर्ने धितोपत्र बोर्डका पुर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले बताए । “अहिले शेयर बजार अर्थतन्त्रको विपरित जानु राम्रो मान्न सकिँदैन,” उनले भने,“यतिबेला लगानीका वैकल्पिक क्षेत्रहरु संकुचित भएकाले पनि शेयर बजारमा लगानी बढेको देखिन्छ । प्रविधिको विकासले पनि बजार विस्तारमा टेवा पुर्याएको छ ।”

राष्ट्र बैंकले शेयर कर्जा सहज बनाइदिएकाले कर्जा लिएर लगानी गर्नेहरु बढेका छन भने बैंकहरुले पनि यो क्षेत्रमा सहज रुपमा कर्जा दिइरहेको उनले बताए । अर्कातर्फ बजारमा तरलता धेरै भएर ब्याजदर समेत घटेको छ । “अहिले हल्लाकै भरमा बजार बढेको देखिन्छ,” डा. कार्कीले भने,“बजार यति पुग्छ, उति पुग्छ भनेर हल्ला फैलाएर अनेक चलखेल गर्ने गरेको भेटिन्छ । जसरी बजार बढेको छ त्यो कृत्रिम छ । अहिले स्थितिमा साना लगानीकर्ता, भर्खर बजार छिरेका लगानीकर्ता जो नवप्रवेशीहरु छन उनीहरुका लागि अत्यन्तै जोखिम देखिएको छ ।”

हल्लाका भरमा निरन्तर बढेको शेयर बजारमा लगानी गर्दा लगानीकर्ताले उच्च सतर्कता अपनाउनु पर्ने उनको सुझाव छ । अहिलेको स्थितिमा बजार असामान्य रुपमा चलेको उनको विश्लेषण छ ।“बजार बढ्नका आधारहरु के के हुन त ? अहिलेको स्थितिमा मैले बजार जोखिम नै देख्छु,” उनले भने,“मुख्यकुरा नियामक निकायहरुले समयमै लगानीकर्ताहरुलाई सचेत गराउने काम गर्नुपर्ने देखिन्छ ।” 

पूँजी बजामा इक्यूटी शेयरको बाहुल्यतालाइ कम गर्दै अन्य वित्तीय औजारको कारोबारलाई बढवा दिन पर्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । “नेपालको पूँजी बजारमा उपकरणगत विविधता छैन,”उनले भने,“उपकरणगत विविधिकरण नभई भोलि बजार दिगो हुनसक्छ कि सक्दैन भन्ने छ ।” दोस्रो हाम्रो पूँजीबजारमा संस्थागत विविधिकरण पनि नभएको उनको भनाई छ ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको अर्थात उद्योग, कृषि, पर्यटन, सेवा क्षेत्रलाई अगाडि बढाउन कर्जा प्रवाह गर्ने क्षेत्रको बाहुल्यता रहको छ । अहिलेको बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुको उपस्थिति न्यून छ ।  संसारका धेरै बजारहरुमा बास्तविक क्षेत्रको बाहुल्यता रहेको बताउदै डा. भट्टले भने,“त्यो बजार दिगो पनि हुन्छ । यसले के प्रतिबिम्वित  गर्छ भने माइक्रो इकोनिमक फण्डामेन्टल कता गइरहेको छ ?, आर्थिक वृद्धि के भइरहेको छ ? अर्थतन्त्र कता गइरहेको छ । त्यसलाई प्रतिबिम्वित गर्ने काम पनि शेयर बजारले गर्छ । अहिलेको हाम्रो अवस्था त्यस्तो देखिरहेको छैन । अर्थतन्त्र विस्तार हुन सकेको छैन ।”

शेयर बजार निरन्तर बढ्दै जाँदा २०७२/०७३ सालमा अर्थतन्त्रको विपरित बाटोमा थियो फेरि अहिले त्यो कुरा दोहोरिएको उनको विश्लेषण छ । “यसले शेयर बजार वियरीस ट्रेण्डमा जाने र बबल पैदा हुने जोखिम देखिन्छ,”उनले भने,“यसकारण शेयर बजारलाई दिगो बनाउन मौद्रिक उपकरणहरु प्रयाप्त हुँदैन अन्य वित्तीय औजारहरुको प्रयोग गर्नुपर्ने देखिन्छ ।” त्यसका साथै होल्डिङ पिरियडको आधारमा पूँजीगत लाभकर लगाउने व्यवस्था चाँडो भन्दा चाँडो कार्यान्वयन गराउन सक्यौ भने बजारमा स्थायित्व आउने भट्टको तर्क छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएको यो साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक यसभन्दा अघिको ‘अल टाइम हाइ’ १८८१ को विन्दु पार गरेर १९०० को लाइनमा देखिएको छ । बजार यसरी निरन्तर बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा लगानी गर्दा लगानीकर्ता सचेत हुनु पर्ने त हुन्छ नै । त्यसका साथै नियामक निकायले पनि बजारको अवस्थालाइ प्रभावकारी नियमन गर्नु जरुरी हुन्छ । अहिलेको अवस्थामा बजारमा आएको पैसा बाहिरीएको अवस्थामा बजार क्र्यासको जोखिमको सन्दर्भमा पनि सचेत हुनुपर्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments