वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा सुधार

0
Shares

वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै विप्रेषण आप्रवाहमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढ्दा विप्रेषण आप्रवाहमा ०.१ प्रतिशतको सुधार आएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३७६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.१ प्रतिशत बढी हो भने चालु आर्थिक वर्षको चौथो महिना (कार्तिक) को  तुलनामा ७३ अर्बले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या मंसिरमा ११.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३८.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आवको मंसिरमा ७.६ प्रतिशतले बढेको छ। गत आवको सोही अवधिमा यस्तो संख्या १.४ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.४ प्रतिशतले कमी आई ४२५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ। गत आवको साही अवधिमा यस्तो प्राप्ति २.८ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकका अनुसार पहिलो पाँच महिनाको अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.५५ प्रतिशत तथा पाँच महिनाको औसत मुद्रास्फीति ६.३३ प्रतिशत छ।

यस अवधिमा आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात २७.० प्रतिशतले बढेको छ । त्यस्तै शोधनान्तर स्थिति.२३ अर्ब ३० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

मंसिरसम्ममा कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ८८ अर्ब ३१ करोड छ। जसले ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । यस अवधिमा संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च २८७ अर्ब ८४ करोड र राजस्व परिचालन ३३७ अर्ब ७१ करोड छ।

पहिलो पाँच महिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशत र कर्जाको वृद्धिदर १५.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।