शेयर बजार बढ्न थालेपछि अनलाईन कारोबार समेत बढ्यो

0
Shares

शेयर बजार बढ्न थालेपछि शेयर लगानीकर्ताले नेप्सेको अनलाईन कारोबार प्रणाली मार्फत शेयर खरीद बिक्री बढाएका छन्। यसअघि निकै कम मात्र अनलाईनबाट कारोबार हुने गरेकोमा पछिल्लो समय अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या र कारोबार रकम बढ्दै जान थालेको छ ।

नेप्सेका अनुसार हाल कूल कारोबार रकमको एक तिहाई अर्थात ३३ प्रतिशत कारोबार अनलाईन मार्फत हुन थालेको नेप्सेले जनाएको छ । नेप्सेले उपलब्ध गराएको माघ अन्तिम सातासम्ममा अनलाईन प्रयोगकर्ताको संख्या २० हजार ३२५ जना पुगेका छन्। ५० वटा ब्रोकर कार्यालयमध्ये ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजमा सबैभन्दा बढी १ हजार ५४२ जनाले अनलाइन कारोबार गर्न लगइन लिएका छन् । २०७५ कात्तिक २० गतेदेखि सुरु भएको यो प्रणालीमा १५ महिना अवधिमा सो संख्या पुगेको हो।

नेप्सेका अनुसार पछिल्लो सात दिनको तथ्याङ्कलाई हेर्दा अनलाईबाट ३३ प्रतिशत कारोबार भएको छ भने माघ अन्तिम सम्मको तथ्याङ्कलाई हेर्दा औसतमा दैनिक १ अर्ब ४२ करोड पुगेको छ । गत वर्ष दैनिक औसत कारोबार ३० करोड रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीमा सुरुवाति चरणमा धेरैसमस्या आएका कारण पनि लगानीर्ताले प्रयोगमा चासो नदेखाएपनि हाल भने धेरै समस्या समाधान भैसकेको हुनाले लगानीकर्ताले आफ्नै हातले अनलाईन कारोबार गर्न थालेका हुन्।

फागुन ८ गते बिहीबार नेप्सेको इतिहासमा नै सर्वाधिक रकमको शेयर खरीद बिक्री भएको छ।  नेप्सेको कारोबार प्रणालीमा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेशनल क्लियरिङ्ग हाउस लिमिटेडको प्रणालीमा ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । कारोबार रकम तथा धितोपत्र भुक्तानी एवं राफसाफमा सहजता भएसँगै कारोबार बढेको नेप्सेले जनाएको छ ।