नेपालमा कोरोना : ४६४ जनामा परीक्षण गरिँदा सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ

0
Shares

सरकारले कोरोना भाइरस डिजिज कोभिड–१९ बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुनुभन्दा अघि गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री सम्मिलित अधिकारसम्पन्न समिति गठन गरेको छ। उनले उक्त समितिको एक दिन बिराएर बैठक बसी कोरोनाको सङ्क्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताकासाथ काम अघि बढाइएको सदनलाई जानकारी दिए ।

सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी कूटनीतिकबाहेकका सबै प्रवेशाज्ञा आगामी वैशाख १८ गतेसम्मका लागि स्थगन गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्रीले छोटो समयका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र विदेशमा काम गर्न जाने श्रमिकको श्रम स्वीकृति पनि बन्द गरिएको बताए ।

  • अस्पतालको तयारी

काठमाडौँमा करीब १७० सघन कक्ष शय्या रहेकाले काठमाडौँ उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ शय्या थप गर्ने सरकारी तयारी छ । सरकारले यसअघि नै विभिन्न सरकारी अस्पतालमा गरी ११५ आइसोलेसन बेड स्थापना गरिसकेको जानकारी दिँदै स्वास्थ्यमन्त्री ढकालले थप जोखिमलाई ध्यानमा राखी औषधिमूलो र औजारसमेत जोहो गर्न लागिसकिएको बताए।

कोरोनाको सङ्क्रमण नेपालमा भित्रन नदिन उच्च सावधानी अपनाइएको जानकारी दिँदै मन्त्री ढकालले छिमेकी भारतमा समेत यो रोगको सङ्क्रमण देखिएकाले सीमा नाकामा थप सतर्कता अपनाइएको स्पष्ट पारे । मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुप होम क्वारेन्टाइनको व्यवस्था गर्न नागरिकलाई आग्रह गरिएको तथा कोरोनाको हल्लाले बजारमा दैनिक उपभोग्य वस्तुमा हुने अभाव र कालोबजारी नियन्त्रणका लागि आवश्यक सजगताका साथ काम गरिएको जानकारी दिए ।

नेपालका दुई छिमेकी देश जोड्ने साना ठूला गरी कूल १२९ नाकामध्ये ४३ नाकामा स्वास्थ्यविन्दु स्थापना गरी परीक्षण शुरु गरिएको छ ।

विशेष गरी भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रने विदेशी नागरिकको परीक्षणमा विशेष ध्यान दिइएको र सीमा क्षेत्रका नागरिक आवागनमा समेत परीक्षण गरेर मात्रै जाने गरी व्यवस्थापन गरिएको छ । अन्तरराष्ट्रिय सीमा जोडिएका कूल १२८ स्थानीय तहलाई २१ बुँदे विशेष परिपत्र गरिएको मन्त्री ढकालले जानकारी दिए ।

कूटनीतिकबाहेक अन्य प्रवेशाज्ञा रोकिएको छ । देशभित्र अध्ययनरत ५६ लाख विद्यार्थीमध्ये ५० लाख विद्यार्थीको परीक्षा यही चैत ५ गतेभित्र सक्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै एसइई परीक्षाका लागि समेत सरकारले अवस्थाको मूल्याङ्कन गरेर आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

  • अन्तर्राष्ट्रिय अवस्था

सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण ४६ देशका नागरिकको मृत्यु भएको छ । यसबाट विश्वका १५२ देशका कूल एक लाख ५६ हजार व्यक्ति प्रभावित भएका छन् । हालसम्म पाँच हजार ८३९ जनाको निधन भएको छ । सङ्क्रमितमध्ये ७५ हजार ९३७ उपचारपछि घर फिर्ता भएका छन् । विश्वका ७४ हजार ९९० जना कोरोनाको सङ्क्रमणमा छन् ।

बिरामीमध्ये ९२ प्रतिशत सामान्य रहे पनि आठ प्रतिशत जोखिममा छन् । मृत्युको हिसाबले ८० वर्षभन्दा माथिका व्यक्तिमध्ये १४.८ प्रतिशत छ । अन्तरराष्ट्रियस्तरमा क्यानडाली प्रधानमन्त्रीकी श्रीमती, अष्ट्रेलियाली गृहमन्त्री, बेलायती स्वास्थ्यमन्त्री तथा इरानी उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्री सङ्क्रमित भएका छन् । यस्तै इरानका एक ५५ वर्षीय सांसदको निधन भएको छ । यसैगरी चीन भ्रमणपछि मङ्गोलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा रहेका छन् ।