झुनझुनवालाको सम्पत्ती एक महिनामै ५३ प्रतिशत घट्यो

0
Shares

भारतीय शेयर बजारका ठूला लगानीकर्तामध्येका एक राकेश झुनझुनवालाको कूल सम्पत्ति पछिल्लो एक महिनामा मात्र ५३ प्रतिशतले घटेको छ।

कोरोना भाइरसका कारण शेयर बजारमा आएको अस्वभाविक गिरावाटका कारण झुनझुनवालाको सम्पत्तीमा ठूलो गिरावट आएको हो।
संकटग्रस्त येस बैंकमा समेत ५०० करोड लागनी गरेका झुनझुनवाला विश्व पूँजीबजारमा आएको गिरावट तथा डलरको सामुन्ने भारतीय रुपैयाँ कमजोर भएपछि सम्पत्तीमा उल्लेख्य गिरावटको सामना गर्न बाध्य भएका छन्।

भारतीय शेयर बजारका टाइकोनको रुपमा परिचित झुनझुनवालाको लगानी रणनीति कोरोना भाइरसका कारण सफल हुन नसकेको हो। त्यति मात्र नभै संकटको समयमा ठूला खेलाडीको शेयर बजारमा लगानी गर्ने रणनीति पनि असफल हुँदो रहेछ भन्ने विश्लेषण समेत गरिएको छ।

कोरोनाले शेयर बजारमा ल्याएको लगानीकर्ताको आत्मविश्वास कमेजर बनेपछि ठूला लगानीकर्ता स्वत: असफल भएका हुन्। पछिल्लो ३० दिनमा मुम्बई स्टक एक्सचेन्ज सेनसेक्स २८ प्रतिशत र नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २९ प्रतिशतले घटेको छ। यसको असर साना तथा ठूला सबै लगानीकर्तामा परेको छ।

राकेश झुनझुवालाको ५५२६.४ करोड भारतीय रुपैयाँ लगानी रहेको टाइटन कम्पनीको शेयरमूल्य पछिल्लो ५२ साताको उच्च मूल्यको तुलनामा ३३ प्रतिशतले घटेको छ। त्यसैगरी झुनझुनवालासँग टाइटन कम्पनीको ५ करोड ९३ लाख ७६ हजार २२० कित्ता शेयर छ। यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ९३०.७५ भारु रहेको कम्पनीको शेयरमूल्य पछिल्लो एक महिनामा ३३ प्रतिशतले घटेको छ। यो कम्पनीमा मात्र झुनझुनवालाले २२५० करोड गुमाएका छन्।

त्यसैगरि झुनझुनवालासँग क्रिसिल लिमिटेडको ३९ लाख ६५ हजार कित्ता शेयर रहेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य १३२५ भारतीय रुपैयाँ रहेकोमा सो कम्पनीको सेयर मूल्य १७ प्रतिशतले घटेको छ । पछिल्लो ३० दिनमा झुनझुनवालाले क्रिसिल कम्पनीबाट मात्र १०८ करोड गुमाएका छन्।

त्यस्तै झुनझुनवालाको इस्कोटर्स लिमिटेडमा ९४ लाख ७५ हजार कित्ता शेयर रहेको छ । सो कम्पनीको पछिल्लो ५२ साताको प्रतिकित्ता उच्च शेयरमूल्य ५७६.४५ भारतीय रुपैयाँ रहेकोमा अहिले ५३ प्रतिशतले घटेको छ ।

त्यसैगरी उनको लगानी रहेको रैलिज इण्डियाको शेयरमूल्यमा समेत १९ प्रतिशतले गिरावट आएको छ । उनको यो कम्पनीको १ करोड ९० लाख ३० हजार ८२० कित्ता शेयरमा लगानी गरेका छन्। यो कम्पनीको ५२ साताको उच्चमूल्य भनेको प्रतिकित्ता १८६ भारतीय रुपैयाँ रहेको छ।

त्यसैगरी एग्रो छेक फुड लिमिटेको १८ लाख ३ हजार २५९ कित्ता शेयर खरीद गरेका झुनझुनवालाले यस कम्पनीमा पनि ३५ प्रतिशतले गुमाएका छन् । पछिल्लो ५२ हप्तामा कम्पनीको उच्च शेयरमूल्य ४५० भारतीय रुपैयाँ रहेकोमा एक महिनको अवधिमा ३५ प्रतिशतले घटिसकेको छ।

त्यसैगरी झुनझुनवालको ठूलो लगानी रहेको अर्को कम्पनी डेल्टा कार्पको शेयरमूल्य पनि एक महिनाको अवधिमा ५३ प्रतिशतले घटेको छ। कार्पमा उनको २ करोड कित्ता शेयरमा लगानी गरेका छन्। कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ७० रुपैयाँ थियो।

झुनझुनवालाको पोर्टफोलियोमा ठूलो हिस्सा रहेको अर्को कम्पनी ल्यूपिन फर्मा हो। फर्माको उनीसँग ६९ लाख ३५ हजार ६०५ कित्ता शेयर रहेको छ । कम्पनीको पछिल्लो ५२ साताको उच्च शेयरमूल्य ६१९ भारतीय रुपैयाँ रहेको छ । कारोनाको असर सुरु भएपछिको एक महिनामा कम्पनीको शेयर मूल्य १२ प्रतिशतले घटेको छ ।