पत्रकारलाई निवासबाटै काम गर्ने व्यवस्था मिलाउन पत्रकार महासंघको आग्रह


नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पत्रकारलाई आ–आफ्नो निवासबाट काम गर्ने व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

शनिबार बसेको महासंघ केन्द्रीय समितिको बैठकले पत्रकारका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको हो ।

सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन, सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय पनि महासंघले गरेको छ ।

बैठकले कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।

सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्वन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्य, तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत गठन गर्ने निर्णय महासंघ बैठकले गरेको छ ।