कार्यालयमा ताला लगाएका ब्रोकरहरुले नै अन्तिम समयमा शेयर बजार घटाएको आरोप

0
Shares

आइतबार शेयर कारोबार नगराउन ब्रोकर कार्यालयमा ताला लगाएका ब्रोकर कार्यालयहरु दिउँसो २ बजेपश्चात कार्यालय खोलेर बिक्री चाप बढाउँदा आइतबारको शेयर बजार १८ अंकले घटाएको आरोप लगानीकर्ताहरुले लगाएका छन्।

सुरुवाती समयमा निकै थोरैमात्र घटबढ रहेको नेप्से पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड र फ्रन्टलाईन रेगुलेटर नेप्सेले बजारमा निगरानी बढाउने खबर सार्वजनिक भएसँगै अन्तिम समयमा आएर ब्रोकरहरु कारोबारमा संलग्न भएका थिए।

कारोबारको ३ घण्टा (दिउँसो २ बजेसम्म) ५४ कम्पनीको ९५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा पछिल्लो २ घण्टामा १८ करोड ५० लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। सुरुवाती अवधिमा पाँच अंकले बढेको बजार पछिल्लो २ घण्टामा २३ अंकले घटेर १८ अंकले ऋणात्मक भई बन्द भएको हो।

शेयर बजार विश्लेषक हेमन्त बस्याल लगानीकर्ताले भनेजस्तो ब्रोकर कम्पनीहरुले नै बजार घटाउने आरोप लगाउन नमिल्ने बताउँछन्। यस्तो कुरा नियामक निकायहरुको सुपरिवेक्षण निकायहरुले अध्ययन गरेर मात्र भन्नसक्ने उनको भनाई छ।

बस्यालका अनुसार कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्रसँगै नेपाल पनि प्रभावित भएको समय मार्केट म्यानुपुलेशन हुन सघाउ पुग्छ। यस्तो अवस्थामा ठूला लगानीकताहरुको तुलनामा साना लगानीकर्ताहरु मनोविज्ञानबाट प्रभावित भई शेयर बिक्रीको निर्णय लिने हुँदा बजार बन्द गरेर स्थिति समान्य भएपछि मात्र शेयर बजार खोल्न उपयुक्त हुने उनी बताउँछन्।

आइतबार नेप्से १८.२० अंकले घटेर १ हजार २५१ दशमलव ४५ बिन्दुमा झरेको छ। यसदिन १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर १९ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्।

कारोबारमा आएका ११ उपसमूहका सूचकमध्ये होटल, निर्जीबन बीमा, र अन्य उपसमूहको सूचक बढेका छन् भने बैंकिङ्ग, ब्यापार, विकास बैंक, वित्त, जलविद्युत्त, उत्पादन, लघुवित्त र जीबन बीमा ऋणात्मक भएका छन्। यसदिन नेपाल लाईफको सबैभन्दा २ करोड ८१ लाखको शेयर कारोबार भएको छ। यसैगरि एनएमबि बैंकको १ करोड ९६ लाख, हिमालयन डिष्टिलरीको १ करोड ४५ लाख, एनआईसी एशिया बैंकको १ करोड ११ लाख, र नबिल बैंकको १ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसदिन जनउत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.६८ प्रतिशतले बढेको छ। यस्तै अपि पावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ७ प्रतिशतले बढ्दा सिभिल लघुवित्त र सोल्टी होटलको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढोत्तरी भएको छ।

उता आइतबारको बजारमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको शेयरमूल्य ९.३७ प्रतिशत, इन्भेष्टमेन्ट बैंकको संस्थापक ६.८९ प्रतिशत, एनसीसी बैंकको ६.३२ प्रतिशत र फस्ट माइक्रोफाइनान्सको ५.२५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: ९ चैत २०७६, आइतबार  १७ : ०६ बजे