यस्तो छ सरकारको हालसम्मको आम्दानी र खर्चको अवस्था

0
Shares

चालु आर्थिक वर्षको जेठ २१ गतेसम्मको तथ्यांक अनुसार सरकारको कुल प्राप्ती ६ खर्ब ८२ अर्ब ५७ करोड रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कुल प्राप्तिमा करतर्फबाट ५ खर्ब ७० अर्ब, गैरकर ५७ अर्ब र अनुदान एवं अन्य आम्दानी ५५ अर्ब रहेको महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली जानकारी गराए । यो लक्ष्यको तुलनामा करिब ५८ प्रतिशत हो ।

सरकारको आम्दानी र खर्चमा पारदर्शिता रहेको महालेखा नियन्त्रकको दाबी

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग अन्तरक्रिया मैनालीले हालसम्म ८ खर्ब २७ अर्ब कुल खर्च भएको बताए ।

त्यसमध्ये ६ खर्ब २२ अर्ब चालु र १ खर्ब २० अर्ब पुँजीगत रहेको छ भने वित्तिय व्यवस्थातर्फ ८४ अर्ब खर्च भएको जनाइएको छ । महालेखा नियन्त्रक मैनालीले कतिपय आयोजनाको भुक्तानी भएपनि रिर्पोटिडमा ढिलाई हुँदा विकास खर्चको आकार बढ्न सक्ने बताए ।

संघीय लेखा समूहबाट स्थानीय तहमा कर्मचारी गए सहज हुने मैनालीले बताए । यस विषयमा विभिन्न नगरपालिका एवं गाउँपालिका प्रमुखसँग कुरा गर्दा उनीहरुको चाहना पनि सोही रहेको भन्दै संघीय लेखा समूहबाट कर्मचारी स्थानीय तहमा पठाउँदा सहज हुने उनले बताए ।

कार्यक्रममा पुर्व महालेखा नियन्त्रक प्रधानले बजेट बनाउँदा कार्यान्वयनको समेत प्रभावकारी योजना बनाइए खर्च हुन कुनै समस्या नहुने बताए । उनले सार्वजनिक खरिद योजनालाई प्रभावकारी ढंगले परिचालन गरिनुपर्नेमा जोड दिए । उनले खरिद व्यवस्थाका कारण खर्च हुन नसकेको बताए । एकल खाता कोषमा सुधार गर्दै जाँदा पारदर्शिता पनि बढ्दै जाने उनको भनाई छ ।

पेफाका संयोजक शिवाकोटीले पेफा सचिवालयबाट विभिन्न ९ वटा निकायमा सुधारको काम गरिरहेको बताए । उनले बजेट र राजस्व, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्टिय योजना आयोगलगायत ९ निकायमा सुधारका लागि समन्वयको काम गरिरहेको उनले बताए । उनले सार्वजनिक खर्च तथा व्यवस्थापनका विषयमा बजेट अडिटलगायत ७ वटा डाइमेन्सनका ३१ वटा इन्डिकेटरको आधारमा मूल्यांकन गरेर अगाडि बढेको उनले जानकारी गराए ।

कोरोना संक्रमण रोकथामका लागि ९ अर्ब ८६ करोड खर्च

महालेखा नियन्त्रक मैनालीले हालसम्म कोरोना रोग उपचार, रोकथाम तथा नियन्त्रणका लागि ९ अर्ब ८६ करोड खर्च भएको बताए । यो संघीय, प्रदेश र स्थानीय तहसमेत जोड्दा रहेको उनले बताए ।

संघीय कोरोना कोषमा २ अर्ब २१ करोड रुपैयाँ संकलन भएको, प्रदेश कोरोना कोषमा १ अर्ब ९९ करोड र स्थानीय तहमा ४ अर्ब रुपैयाँ जम्ममा भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २२ जेठ २०७७, बिहीबार  १९ : १४ बजे