एक दशकमा एनएमबिले सबैभन्दा धेरै कर्जा लगानी बढाउँदा निक्षेपमा एनआईसी एशियाको अग्रता

0
Shares

सर्वसाधारणको बचतलाई अर्थतन्त्रमा परिचालन गर्ने मध्यस्तकर्ताको रुपमा रहेको बैंकिङ्ग क्षेत्रले पछिल्लो एक दशकमा ठूलो फड्को मारेको छ। समय क्रमसँगै अर्थतन्त्रको आकार वृद्धि हुँदै जाँदा बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालन पनि बढ्दै गएको छ।

एक दशक पहिले २०६७ असारमा वाणिज्य बैंकहरुले ८ खर्ब ६२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा २०७६ चैत्र मसान्तसम्म आइपुग्दा ३० खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरि कर्जा लगानीतर्फ पनि २०६७ असारमा ३ खर्ब ९५ १४ करोड लगानी रहेको वाणिज्य बैंकहरुको कर्जा २०७६ चैत्र मसान्तसम्म आउँदा २७ खर्ब ५२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा निक्षेप संकलनको आकार ३.५६ गुणाले बढ्दा कर्जा लगानी ६.९७ गुणाले वृद्धि भएको देखिन्छ। पछिल्लो एक दशकको अवधिलाई हेर्दा बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा लगानी उच्च दरमा वढेको देखिन्छ । यो अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा कर्जा लगानी दोब्बरले बढाएको देखिन्छ । यो एक दशकमा राजनीतिक स्थिरता तथा भूकम्प पछिको पुननिर्माणका कामहरु भएकाले कर्जाको माग उच्च दरमा वढेको हो । यस अवधिमा बैंकहरुले निक्षेप संकलन तथा कर्जा लगानीमा २१ गुणासम्मको उच्च वृद्धि हाँसिल गरेका छन्। एनएमबि बैंकले सबैभन्दा धेरै गुणामा कर्जा लगानी बढाउँदा निक्षेपमा एनआईसी बैंकको अग्रता देखिएको छ। मर्जर तथा प्राप्तीका कारण बैंकहरुको पूँजीसँगै संस्थागत सुशासन र लगानी क्षमता पनि विस्तार हुँदै आएको पाइन्छ।

यो अवधिमा बैंकहरु सहर केन्द्रीत मात्र नभै ग्रामीण क्षेत्रमा पनि कर्जा प्रबाह गर्ने तथा निक्षेप संकलन गर्ने गरेका छ्न । राजनैतिक परिवर्तन संगै बैंकहरुले पनि आफ्नो सहर केन्द्रीत उपस्थितीलाई हरेक स्थानीयतहसम्म पुर्याएको अवस्था छ । यसले पनि बैंकहरुको निक्षेप तथा कर्जामा उच्च सुधार आउनमा मद्दत पुगेको छ । चालू आवको १० महिना अवधिमा कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन्। अब ७ वटा स्थानीय तहमा मात्रै शाखा पुग्न बाँकी रहेको राष्ट बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गाउँगाउँमा शाखा पुग्दा बैंकिङ पहुँचमा वृदि भई बैंकहरुको कर्जा लगानीको पहुँच ग्रामीण क्षेत्रका मानिसहरुसँग पुगेपनि लगानीमा विविधता ल्याउन भने नसकेको आरोप अझै पनि बैंकहरुलाई लाग्ने गरेको छ।

छोटो अवधिमा धेरै नाफा हुने रिभल्भिङ प्रकृतिका क्षेत्रमा लगानी वढाउने तथा सिमित व्यवसायीहरुको मात्र पहुँचमा रहेका बैंकहरुवाट अझै पनि साना तथा मझौला उद्यामी व्यावसायीहरुले अझै पनि सहज बैंकिङ सेवा नपाएको गुनासोहरुको आउने गरेका नै छन । त्यसका लागि पछिल्लो समयमा कानुन मार्फत नै व्यवसायी र बैंकर छुट्याउने प्रक्रिया समेत सुरु भैसकेको छ । जसको उदाहरण प्राथमिकताप्राप्त क्षेत्र तथा ब्याज अनुदान सहितको कर्जामा धेरै बैंकहरुले अहिले पनि राष्ट्र बैंकले तोके अनुसार कर्जा प्रवाह गर्न नसकेपछि हर्जना समेत तिर्ने गरेका छन्।

समयक्रमसँगै बैंकहरुले कर्जा प्रवाह गर्ने शैलीलाई भने आधुनीकीकरण गर्न नसकेको बैंकिङ्ग विज्ञहरुले नै बताउँछन्। यद्यपी पछिल्ला दिनहरुमा राष्ट्र बैंकको नियमनको कारण तल्लो वर्गसम्म बैंकिङ्ग पहुँच पुग्न सकेको छ भने विस्तारै भएपनि बैंकहरुले साना तथा मझौला कर्जा लगानी पनि बढाउँदै लगेका छन्।

कुनै समय ५० करोडको ऋण उठ्न नसक्दा समस्यामा आउने अवस्थामा रहेका वाणिज्य बैंकहरुको आजको अवस्था हेर्दा विकास निमार्णका पूर्वाधारमा लगानी गर्नसक्ने अवस्थामा पुगेका छन्। वाणिज्य बैंकको सन्दर्भमा ५० करोड सम्मको हानी नोक्सानीले संस्थालाई खासै असर नगर्ने अवस्था आएको बैंकरहरुले नै बताउँदै आएको अवस्था छ।

विसं २०६७ सालमा न्यूनतम ६ अर्बदेखि अधिकतम ६८ अर्ब रुपैयाँसम्म निक्षेप संकलन गरेका बैंकहरुले २०६७ सालमा आइपुग्दा न्यूनतम ४९ अर्बदेखि अधिकतम २ खर्ब रुपैयाँसम्मको निक्षेप एउटै बैंकले संकलन गरेको देखिन्छ।

विसं २०६७ असारमा ८ अर्ब ८७ करोड निक्षेप संकलन गरेको एनआईसी एशिया बैंकले सो समयमा ७ अर्ब ६३ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको थियो। यसैगरि सबैभन्दा धेरै गुणामा कर्जा लगानी बढाएको एनएमबि बैंकले पनि २०६७ असारमा ५ अर्ब २८ करोड कर्जा लगानीलाई १ खर्ब १५ अर्ब पुर्याएको देखिन्छ। विसं २०६७ सालमा नै सबैभन्दा धेरै निक्षेप संकलन र कर्जा लगानी गर्न सफल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २.९४ गुणाले निक्षेप संकलन बढाएर २०७६ चैतसम्म २ खर्ब माथि निक्षेप संकलन गरेको छ भने ४.७० गुणाले कर्जा लगानी वृद्धि गरि १ खर्ब ४८ अर्ब माथि कर्जा लगानी गरेको देखिन्छ।

पछिल्लो १० वर्षको अन्तरालमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन सबैभन्दा कम बढेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन २.४२ गुणाले बढेर ८५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। उता कर्जा लगानीतर्फ बहुमत सरकारी लगानी रहेको कृषि विकास बैंकको सबैभन्दा कम ३.७२ गुणा मात्र वृद्धि भएको देखिन्छ। बैंकको २०६७ असारमा ३२ अर्ब ६० करोड रहेकोमा २०७६ चैत्रमा १ खर्ब २१ अर्ब ३९ करोड रहेको छ।

पछिल्लो एक दशकमा एनआईसी एशिया, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, सानिमा, प्रभु बैंकको निक्षेपको आकार १० गुणा बढीले बढेको छ। कर्जा लगानीतर्फ एनएमबि बैंक, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा, प्रभु र प्राइम कमर्सियल बैंकले १० गुणाभन्दा धेरैले आफ्नो कर्जा लगानीको आकारमा वृद्धि गरेका छन्।

साना देखि वाणिज्य बैंकहरु पनि एक आपसमा मर्जर तथा प्राप्ती हुँदा पूँजीसँगै बैंकहरुको लगानी क्षमतामा पनि विस्तार हुँदै आएको कुरामा दुईमत नहोला । तर देश विकासको प्रमुख योगदानकर्ता मानिने निजी क्षेत्रका साथै बैंकहरुले आफ्नो कर्जा लगानीलाई ठूला आयोजना र पूर्वाधारका साथसाथै सना तथा मझौला व्यवसायी तथा कम बैंकिङ्ग पहुँच रहेका ग्रामीण क्षेत्रहरुमा समेत लगानी बढाउनुपर्ने आवश्यता अझै धेरै रहेको छ।