एनआरएन इन्फ्रास्ट्रक्चरको १० कित्ता शेयर पनि गोलाप्रथाबाट पाउनुपर्ने


एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओका आवेदकले १० कित्ता शेयर पनि गोलाप्रथाबाट मात्र पाउने अवस्था देखिएको छ ।

शनिबार समेत गरी ६ दिनसम्म निष्काशन भएको शेयरमा अझै ३ दिनसम्म आवेदन गर्न सकिन्छ । शेयर निष्काशन भएको चौथो दिन अर्थात सोमबार बिहानसम्ममा नै कम्पनीको आईपीओमा २ लाख ३० हजार ६७१ जनाले आवेदन गरेका छन् ।

यो कम्पनीको साधारण शेयरमा लगानी गर्दा जोखिम न्यून भएको हुनाले निर्धक्क भएर लगानी गर्दा हुन्छ : जीवा लामिछाने, अध्यक्ष, एनआरएन इन्फ्राष्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार माथि उल्लेखित आवेदकले कम्पनीको ८९ लाख २४ हजार ५९० कित्ता शेयर माग गरेका छन् । जबकी कम्पनीले सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन संख्याका आधारमा पनि सोमबार बिहानसम्मको तथ्यांकलाई हेर्दा २ लाख २० हजार ६७१ आवेदकले अनिवार्य रुपमा १० कित्ता र झण्डै ८० हजार आवेदकले थप १० कित्ता शेयर पाउने देखिन्छ ।
सोमबार, मंगलबार र बुधबार गरी ३ दिनमा ८० हजारभन्दा बढी आवेदन परेको खण्डमा कम्पनीको १० कित्ता शेयर पनि गोलाप्रथाबाट मात्र पाउने निश्चित छ ।

आइतबार साँझसम्ममा मात्र १ लाख ९० हजार ७५ जनाले ७५ लाख ३२ हजार ४८० कित्ता शेयर माग गरेका थिए । पछिल्लो १७ घण्टाको अवधिमा मात्र कम्पनीको आईपीओमा ३० हजारभन्दा बढी आवेदन परेको छ ।

कम्पनीको शेयरमा आवेदन गर्न चाहने लगानीकर्ताले मेरो शेयरका साथै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याएर सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्काशन गरिरहेको छ । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।