सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको भट्टलाई बोर्डको सीईओ नियुक्त गरेको हो।
भट्ट चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन्। यसअघि उनी राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए ।
सरकारले बोर्डको सीईओ नियुक्तिको सिफारिस गर्न बोर्डका उपाध्यक्ष (अर्थमन्त्री) को संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र सरकारले पठाउने एक विज्ञ सदस्यसहितको सिफारिस समिति गठन गरेको थियो। छनौट समितिले सुशील भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
बोर्डको कार्यकारी प्रमुखका लागि पदका लागि १२ जनाले आवेदन गरेका थिए । डा. सरोज कोइराला,सुशील भट्ट, सुशील ज्ञवाली, रामकृष्ण खतिवडा, सुमन शर्मा, चण्डिका भट्ट,कृष्णप्रसाद आचार्य, दीपकराज जोशी, शेरजंग कार्की, रमेश चन्द्र पौडेल, लक्ष्मीविलास कोइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए।
बोर्डको कार्यकारी प्रमुखका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण, वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्वन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहितको उच्चस्तरको दक्षता भएको तथा ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ।
यसअघि बोर्डका सीईओ महाप्रसाद अधिकारीले चारवर्षे कार्यकाल पूरा गर्न दुई महिना बाँकी छँदै राजीनामा दिएपछि बोर्ड प्रमुखविहीन बनेको थियो। अधिकारीलाई सरकारले २५ चैतमा राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिसकेको छ ।
लगानी बोर्डको काम
बोर्डले सरकारले तय गरेका लगानीका क्षेत्रमध्ये प्रतिस्पर्धात्मक वा प्राथमिकताका क्षेत्रको छनौट गर्ने गराउने, लगानी योग्य परियोजनाको छनौट गरी प्रस्ताव आह्वान, प्राप्त प्रस्तावको मूल्याङ्कन, लगानीकर्तासँग वार्ता, लगानीको स्वीकृति प्रदान, प्रस्तावकसँग तोकिएबमोजिम सम्झौता गर्ने गरेको छ ।
यस्तै भएका सम्झौताबमोजिम परियोजना निर्माण, कार्यान्वयन वा सञ्चालन भए वा नभएको अनुगमन गर्ने र लगानी प्रवर्द्धनका लागि विभिन्न मन्त्रालय, सरकारी तथा स्थानीय निकायबीच समन्वय गर्ने वा गराउनेजस्ता महत्वपूर्ण जिम्मेवारी लगानी बोर्डले निभाउँदै आएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया