लिवर्टी इनर्जीको शेयर सूचीकरण यसै साता, दोस्रो बजारमा कारोबार पनि खुल्दै


भदौ ३ देखि सर्वसाधारणमा निष्काशन भएको लिवर्टी इनर्जीको शेयर यसै सातादेखि कारोबारमा आउने भएको छ । लिवर्टीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार केन्द्रीय निक्षेप प्रणाली सिडिएससीसँग सम्झौता भइसकेको छ भने नेपाल स्टक एक्सचेञ्जमा सम्झौताका लागि सबै प्रकृया पूरा भइसकेको छ ।

“आज भोलि नै शेयरधनीको खातामा शेयर जम्मा हुन्छ । नेप्सेमा सूचीकरणको सम्झौता भएपछि यसै सातादेखि शेयर कारोबार सुरु हुन्छ ।” प्रभु क्यापिटलका एक अधिकारीले नोटबजारलाई बताए ।

लिवर्टीको साधारण शेयर एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको थियो । निष्काशन तथा बाँडफाँडको सबै काम सकिएपछि भदौ २१ गते कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्दै सूचीकरणको प्रकृया अघि बढाएको थियो ।

लिवर्टीसँगै शेयर निष्काशन गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको भने शेयर सूचीकरण भएर नियमित कारोबारमा आइसकेको छ । लिवर्टीले ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा १ लाख ८८ हजार ३७३ आवेदकले १० देखि ४० कित्तासम्म शेयर पाएका थिए ।

उता सोही समयमा शेयर निष्काशन गरेको समाज लघुवित्तले पनि हालसम्म शेयर सूचीकरण गराएको छैन । लघुवित्तको पनि यसै साता सूचीकरण प्रकृया सकिएर ढिलोमा अर्को साताको सुरुदेखि शेयर कारोबारमा आउनेगरी तयारी थालिएको शेयर रजिष्ट्रार बिओके क्यापिटलले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।