लिवर्टी इनर्जीको आईपीओ खुल्यो, अधिकतम् २ लाख कित्तासम्म भर्न पाइने

0
Shares

लिवर्टी ईनर्जी कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ।

कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणमा निष्काशनमा ल्याएको हो।

२ लाख कित्तासम्म भर्न पाइने

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।  आईपीओको निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन गर्न पाइनेछ ।

कम्पनीको साधारण शेयरको धितोपत्र निस्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएलएस क्यापिटल रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

सर्वसाधारणमा शेयर जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्तापूँजी १ अर्व ५० करोड हुनेछ । जसमध्ये संस्थापक समूहको ७५ प्रतिशत हुनेछ भने सर्वसाधारणको २५ प्रतिशत हुनेछ। 

निर्माणकार्य करिब ९८% सम्पन्न

यस कम्पनीले हाल निर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउ पालिकामा अवस्थित छ। उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको छ ।

त्यस्तै हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको कम्पनीको भनाई छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८% सम्पन्न भई आगामी कार्तिक मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

व्यापारिक उत्पादन आगामी कात्तिक मसान्तसम्म

विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केही उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्तसम्म थप गरिने भएको छ ।  

यस आयोजनाको पानीको श्र्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावरहाउससँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ ।

प्रतिमेगावाट लागत कति ?

लिवर्टी इनर्जी कम्पनीले ५५६ जना संस्थापक शेयरधनीको पहलमा लमजुङ्गको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

यस आयोजनाको ब्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र विस २१०६ बैशाख १४ गतेसम्म रहेको छ।

आर्थिक वर्ष २०७५।७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा १०५.७४ रुपैयाँ र चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.०७ रुपैयाँ कायम हुने प्रक्षेपण गरेको थियो।

लगानी फिर्ता हुन ८ वर्ष लाग्ने

कम्पनीमा गरिएको लगानी फिर्ता हुन ८.२० वर्ष लाग्ने तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष छ। कम्पनीले विद्युत प्राधिकरणसँग हिउँदमा प्रतिमेगावट ८.४० र वर्षा याममा ४.८० प्रतियुनिट दरमा विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यो दर पाँच वर्षसम्म तीन प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख छ।

यस कम्पनीले उल्लेखित आयोजना बाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।