नेप्सेमा एक सातामा २ करोड ६१ लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ६ वटा कम्पनीको २ करोड ६१ लाख ४५ हजार ९२ कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेमा यस साता शेयर सूचीकृत गरेका कम्पनीहरुमा लिवर्टी इनर्जी, प्रभु बैंक, एनएमबि बैंक, समाज लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, र एनएलजी इन्स्योरेन्स कम्पनी रहेका छन् ।

नेप्सेका अनुसार लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओ सहित १ करोड ५० लाख कित्ता शेयर सूचीकृत भएको हो । यो नै यस सातामा सूचीकृत गराएका कम्पनीहरुमध्ये उच्च शेयरसंख्या हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेकोमा स्थानीय बासिन्दालाई मागजति १ लाख ८५ हजार ७० कित्ता, ६ हजार १०० कित्ता कर्मचारी र ३५ लाख ५८ हजार ८३० कित्ता शेयर भदौ १५ गते सर्वसाधारणमा बाँडफाँड गरिएको थियो।

यसैगरी एनएमबि बैंकको ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर सूचीकृत भएको छ । एनएमबि बैंकले प्राप्ती गरेको साबिकको कञ्चन डेभलपमेन्ट बैंक तर्फको शेयर एनएमबि बैंकले आफ्नो नाममा सूचीकरण गराएको हो । कञ्चनलाई एनएमबि बैंकले १०० बराबर ८५ शेयर अनुपातमा प्राप्ती गरेर भदौ ७ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

यस्तै यसै साता एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद जारी गरेर साउन ९ गते बाँडफाँड गरेको थियो। सोही हकप्रद शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नमिल्ने गरी सूचीकृत गरेको हो ।

प्रभु बैंक लिमिटेडको २ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर पनि यसै साता सूचीकृत भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा साउन १९ देखि २२ गतेसम्म निष्काशन गरेको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्र साउन २९ गते बाँडफाँड गरिएको थियो ।

यसैगरी समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख कित्ता शेयर पनि यसै साता सूचीकृत भयो। लघुवित्तले भदौ ४ गते ८ गतेसम्म जारी गरेको ८६ हजार कित्ता साधारण शेयर (आईपिओ) सहित सो परिमाणमा शेयर सूचीकृत गरेको हो । लघुवित्तमा ५७ प्रतिशत बराबरको १ करोड १४ लाख संस्थापक र ४३ प्रतिशत बराबरको ८६ हजार सर्वसाधारणको हिस्सा रहेको छ। उक्त शेयर शेयर भदौ १५ गते सर्वसाधारणमा बाँडफाँड गरिएको थियो।

सूचीकृत भएपनि लघुवित्त र स्वस्तिक लघुवित्तले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका कारण मर्जर सम्पन्न नहुँदासम्म समाजको शेयर कारोबार भने खुल्नेछैन।

उता छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर पनि दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको छ । कम्पनीले आव २०७५।७६ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीको २०७६ पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश बुकक्लोजको अघिल्लो कारोबार दिन २०७६ पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असाेज २०७७, शुक्रबार  १५ : ५७ बजे