मनीग्राम र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्बन्धि सम्झौता

0
Shares

रेमिट्यान्स कम्पनी मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।

समझदारीपछि विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्ने जनाइएको छ । अब सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा पाउनेछन् ।

व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए । प्रमुख सोहेलले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गरे ।

वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा ६० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागु भइ ३१ डिसेम्बर २०२० सम्म कायम हुने कम्पनीले जनाएको छ ।

आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए । जव कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थपे ।

आइएमईले देशभरका २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले पठाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।