उद्योग वाणिज्य महासंघले इमेलबाट माग्यो उम्मेदवारी मनोनयन, निर्वाचन कार्यतालिका यस्तो


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयनको प्रकृया सुरु भएको छ ।

मंसिर ११ र १२ गते साधारण सभा गर्दै १३ गतेका लागि निर्वाचनको कार्यतालिका बनाइएको छ ।

उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?

कार्यतालिका अनुसार उम्मेदवारहरुसँग मनोनयन दर्ता माग गरिएको छ । सार्वजनिक सूचना सार्वजनिक गर्दै महासंघले इमेलबाट मनोनयन दर्ता गराउन आकांक्षहरुलाई आग्रह गरेको हो । कात्तिक ५ गते बुधबारदेखि मंसिर ४ गतेसम्ममा मनोनयन दर्ता गरिसक्नु पर्ने बताइएको छ ।

मनोनयन दर्ता इमेलबाट गरे पनि मंसिर ४ गतेभित्रमा आवश्यक सक्कल कागजात बुझाउनु पर्ने व्यवस्था गरिएको छ । महासंघका अनुसार उम्मेदवारहरुको पहिलो चरणको नामावली मंसिर ४ गते नै सार्वजनिक हुनेछ ।

सक्कल कागजातका आधारमा मंसिर ५ गते उम्मेदवारको दोस्रो चरणको नामावली सार्वजनिक गरिने बताइएको छ । उम्मेदवारहरुको नामावली बिरुद्ध दाबी बिरोध पनि सोही दिन गर्नु पर्ने र दाबी बिरोधका आधारमा मंसिर ५ थते नै उम्मेदवारहरुको तेस्रो चरणको नामावली सार्वजनिक गरिने महासंघ निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारलाई मंसिर ६ देखि ८ गतेसम्ममा उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ । उम्मेदवारी फिर्ताको अवधि पुरा भए पछि मंसिर ८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

उता मतदाताहरुको विबरण तथा सूची मंसिर २ गते सार्वजनिक गरिने जनाएको महासंघले मंसिर ३ गतेसम्ममा नामावलीमाथि दाबी बिरोध गर्न सकिने जनाएको छ ।

मतदान गर्न पाउने सदस्य तथा प्रतिनिधिहरुको अन्तिम नामावली मंसिर ११ गते प्रकाशन हुनेछ ।

मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, बबरमहलस्थित कार्की बैंक्वेट, नेपाल उद्योग वाणिज्य महासंघ टेकू गरी ३ स्थानमा मतदानको कार्यक्रम हुने र आवश्यक्ता अनुसार स्थान थपघट तथा फेरबदल भएमा अर्को सूचनाद्धारा जानकारी गराइने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार निर्वाचन सम्पन्न भएलगत्तै मत गणना सुरु गरिने छ ।

महासंघले निर्वाचन समितिमा उपेन्द्रकेशरी न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तथा लिलामणि पौडेल र रमण कुमार कर्णलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।

महासंघको निर्वाचनमा चन्द्र ढकाल र किशोर प्रधानले आआफ्नो प्यानल बनाएर चुनावी मैदनमा लड्ने तयारी गरिरहेका छन् । यस अघि कोरोना संक्रमणका कारण २ पटक स्थगित भईसकेको साधारण सभा तेस्रो पटक सम्पन्न हुन लागेको हो ।

गत चैत २६ गते हुनु पर्ने महासंघको साधारण सभा कोरोना संक्रमणका कारण लगाइएको लकडाउने असार २६ र २७ गतेका लागि सारिएको थियो । उक्त मितिमा पनि लकडाउनको असरले निर्वाचन हुन सकेको थिएन ।

मंसिरमा साधारण सभा गर्नका लागि सरकारले केही समय अिघ मात्र महासंघलाई अनुमति दिएको थियो । महासंघले गरेको निर्णय अनुसार आगामी मंसिर ११ र १२ गते साधारण सभा तथा निर्वाचन गर्नका लागि गृह मन्त्रालयले महासंघलाई स्वीकृति दिएको थियो ।

 
गृह मन्त्रालयले विद्युतिय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनका दौरान एक पटकमा २५ जनाभन्दा बढी व्यक्ति उपस्थित नहुने शर्तमा साधारण सभाका लागि स्वीकृति दिएको थियो ।

स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न अनुमति दिइएको थियो । सोही अनुसार महासंघले निर्वाचनको कार्यतालिका बनाएर प्रकृया अघि बढाएको हो ।

चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोजे भने महासंघको शाख कमजोर हुन्छः शेखर गोल्छासँग अन्तर्वार्ता

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।