राष्ट्र बैंकले मार्जिन कर्जामा कडाई गर्ने सम्भावना बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा मार्फत शेयर धितो कर्जामा कडाई गर्ने संकेत देखिएको छ। विषम परिस्थितिमा पनि शेयर बजारमा बढ्दो लगानीले जोखिम बढाउन सक्ने भएकाले स्रोतको उपलब्धतामा नियन्त्रण गर्न खोजेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत साताको बिहीबार हालसम्मकै उच्च विन्दु १८९३ अंकमा पुगेको छ । यसभन्दा अघि नेप्सेको उच्च विन्दु १८८१ रहेको थियो । मार्जिन ल्यान्डिङ मात्रै असारको तुलनामा असोजमा नौ अर्बले बढेको छ । त्यो बाहेक केहि ओभर ड्राफ्ट, चालुपूँजीमा गएको कर्जा समेत शेयर बजारमा आएको अनुमान नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक भट्टको रहेको छ ।

‘बुलिस ट्रेण्ड’ मा बजार प्रवेश जोखिमपूर्ण, न्यूनीकरणका लागि यस्ता छन् विज्ञका सुझाव

यसभन्दा अघि भूकम्प पछि एकोहोरो रुपमा बढेको शेयर बजार सूचक लामो समय टिक्न सकेन ।अहिले पनि कोरोनाका कारण अर्थतन्त्र संकट उन्मुख रहेको अवस्थामा शेयर बजारको उचाई स्वभाविक नरहेको विश्लेषकहरुको भनाई छ ।

अहिलेको अवस्थामा कोरोनाका कारण आर्थिक गतिविध ठप्प भएपछि बैंकहरुले लगानीका क्षेत्र नभएपछि मार्जिन लोन मात्र होइन आफैले पनि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न थालेका छन् ।बैंकिङ क्षेत्रको पैसा शेयर बजार केन्द्रित हुन थालेपछि राष्ट्र बैंक गम्भिर हुन थालेको हो ।

कोरोनाका कारण सिथिल भएको अर्थतन्त्र सकारात्मक होस भनेर केन्द्रीय बैंकले बजारमा तरलताको सहज गराउने नीति लियो । तर, बैंकहरुले सरकारले तोकका क्षेत्रमा भन्दा पनि शेयर बजारमा लगानी वढाएपछि शेयर बजारमा अस्वभाविक सुधार आउदा केन्द्रीय बैंकले पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा मार्फत तरलता घटाउने नीति अबलम्बन गर्ने भएको हो ।

बैंकहरुको दोहोरो लगानीले शेयर बजार हालसम्मकै उच्च अंकमा

आर्थिक गतिविधि बढाउनका लागि उत्पादन मूलक क्षेत्रमा लगानी गर्न स्रोत अभाव नहोस भनेर मौद्रिक उपकरणहरु खुकुलो गरेको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्याकारी अधिकृत डा. गुणाकरण भट्टले बताए । “राष्ट्र बैंकले अधिक तरलतालाई अलिकति टाइट गर्ने हो,”भट्टले भने,“हामीले अहिले तरलता किन छोडिरहेको हो भन्दा सकेसम्म बजारमा तरलता छैन भन्ने नपरोस र यसले आर्थिक क्रियाकलाप विस्तार गर्नमा भरथेग गरोसभन्ने हो ।”

तरलता सहजगर्न खोज्दा शेयर बजारमा पैसा गएर बबल आउन सक्ने भएकाले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा मार्फत केही कसीलो गर्ने नीति लिइने भट्टले जानकारी दिए । मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा मार्फत नगद सञ्चिती अनुपात, बैधानिक तरलता अनुपात, कर्जा निक्षेप अनुपात तथा मार्जिन प्रकृतिको कर्जाको सन्दर्भमा यसभन्दा अघि भएका व्यवस्थामा हेरफेर हुन सक्ने उनको भनाइ छ ।

शेयर बजारले नयाँ उचाई कायम गरेसंगै स्थायित्व ल्याउने चुनौति – लगानीकर्ता

“अहिले शेयरधारण गरेको अवधि अर्थात होल्डिङ पिरियडको आधारमा पूँजीगत लाभकर लगानुपर्छ,” उनले भने,“आज शेयर किनेर भोलि बेच्छ र नाफा कमाउँछ भने त्यसमा अलिबढी पूँजीगत लाभकर लगाउन सकिन्छ ।” तर लामो समय शेयर धारण गरेर कसैले शेयर बेच्छ भने त्यसलाई पूँजीगत लाभकर कम लाग्ने हुनु पर्ने उनको भनाइ छ । जसले कम्पनीको कार्यसम्पादनको आधारमा लगानी गर्छ त्यस्ता लगानीकर्तालाई सिनसियर इन्भेष्टरको रुपमा लिनुपर्ने समेत उनले बताए ।

“होल्डिङ पिरियडको आधारमा पूँजीगत लाभकर लगाउने व्यवस्था चाँडो भन्दा चाँडो कार्यान्वयन गराउन सक्यौ भने यसले बजारमा स्थायित्व कायम गर्छ,” उनले भने । शेयर बजारमा केन्द्रित पैसा नियन्त्रणका लागि पनि अधिक तरलतालाई व्यवस्थापन गर्ने तथा न्यून ब्याजदरलाई समेत सुधार हुने गरी नीति अबलम्बन गर्नु पर्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।