उद्योग वाणिज्य महासंघमा पहिलो पटक गठन भयो पूँजी बजार समेट्ने फोरम, अम्बिका पौडेल सभापति


नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक पूँजी बजारलाई समेट्दै फोरम गठन गरिएको छ ।

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवं सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेल महासंघको सदस्यमा निर्वाचित भएसँगै यस्तो फोरम गठन भएको हो ।

पौडेलकै सक्रियतामा महासंघमा अन्य समितिहरु सरह पूँजी बजार फोरम गठन भएको हो । फोरमको सभापति पौडेल बनेका छन् ।

गत मंसिर १३ गते सम्पन्न महासंघको ५४ औं वार्षिक साधारण सभा एवं निर्वाचनमा एसोशिएट्सतर्फ लोकप्रिय मत ल्याएर सदस्य बनेका पौडेल फोरमको सभापति बनेका हुन् । यसका लागि आफुले सक्रिय भूमिका निर्वाह गरेको बताएका पौडेलले आइतबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा औपचारिक रुपमा महासंघ अध्यक्ष शेखर गोल्छाबाट कार्यक्षेत्रसहित औपचारिक पत्र बुझेका छन् ।

फोरमको सभापतिको जिम्मेवारी पाएका पौडेलले ८ सदस्य मनोनयन गरी फोरमलाई पूर्णता दिनेछन् ।

पूँजीबजारको विकास र बिस्तारका लागि सक्रिय रुपमा काम गर्ने किसिमले फोरमको संरचना बिस्तार गर्ने पौडेलले नोटबजारलाई बताए । बजार सुधारका लागि आवश्यक नीति निर्माणका लागि सम्बद्ध पक्षसँगको सहकार्यलाई फोरमले केन्द्रमा राखेर अघि बढ्ने पौडेलको भनाई छ ।

महासंघको निर्वाचनका समयमा मतदातासँग पूँजी बजार सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका पौडेलले प्रतिबद्धता अनुसार महासंघमा आफु र फोरमले सक्रिय भुमिका निर्वाह गर्ने बताए । यसका लागि आवश्यक सल्लाह सुझाव र सहयोगका लागि उनले सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।