शेयर बजार ‘ओभर भ्याल्यूड’, कुल ग्राहस्थ उत्पादनभन्दा बजार पूँजीकरण धेरै

0
Shares

बैंकिङ्ग समुहमा बढोत्तरी भएसँगै आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आएको ५०.१४ अंकको सुधारसँगै एकैदिन धितोपत्रको बजार पूँजीकरण ६९ अर्ब ५८ करोड २३ लाख रुपैयाँले बढेको छ ।

गत बिहीबार रहेको ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लखको बजार पूँजीकरण बढ्दा आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो । जेठ २३ गते आइतबार धितोपत्रको कुल बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड४४ लाख रुपैयाँ रहेको छ ।

आइतबार नेप्से ५०.१४ अंकले बढेर २ हजार ९०६ दशमलव ८९ बिन्दुमा बन्द हुँदै सूचकका आधारमा पनि नयाँ रेकर्ड कायम गरेको हो ।

कारोबार रकमका आधारमा पनि अघिल्लो आइतबार (जेठ १६ गते) १७ अर्ब २ करोडको शेयर कारोबार भएको एक सातापछि कारोबार रकम १७ अर्ब २७ करोड नाघेको छ ।

धितोपत्रको दोस्रो बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेमा सूचीकृत शेयरको संख्या र शेयरको मूल्य वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि धितोपत्रको बजारको आकार बढेको हो ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले बोसमा जोड दिएका छन् भने मर्जर तथा प्राप्ती कारण समेत बलिया संस्थाको रुपमा विकसित भैरहेको अवस्था रहेको छ ।

जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ .कम्पनीहरुको साधारण शेयरका कारण पनि शेयरको आपूर्ति र मूल्य बढेको अवस्था छ ।

कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने दिनप्रतिदिन आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र संकुचित भई बैंकहरु समेत शेयर बजारमा प्रवेश गरेर शेयर खरीद गर्न थाल्दा समेत नेप्से सूचकमा निरन्तर वृद्धि टिकेको छ ।

त्यतिमात्र नभई बैंक वित्तीय संस्थाको ब्याजदर घटेको हुनाले निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋण समेत शेयर बजार थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा पब्लिक नै धेरै हुन्छ ।

आइतबार कारोबारयोग्य शेयरको बजार पूँजीकरण अर्थात फ्लोट मार्केट क्याप पनि १४ खर्ब १० अर्ब २० करोड रुपैयाँ पुगेको छ । नेप्से १८८१ मा रहेको दिन २०७३ साउन १२ गते फ्लोट मार्केट क्याप ६ खर्ब ९१ अर्ब ४७ करोड रुपैयाँ मात्र थियो ।

बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

शेयर बजार ओभर भ्याल्यूड, कुल ग्राहस्थ उत्पादनभन्दा शेयर बजार पूँजीकरण धेरै

नेपालको धितोपत्र बजार ‘ओभर भ्याल्यूड’ भएको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा संस्थागत लगानीकर्ता र ब्यापारिक क्षेत्रको समेत लगानी थपिँदा बजार ‘ओभर भ्यालुड’ भएको हो ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।

आइतबार धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनभन्दा माथि पुगेको छ । आइतबार कुल बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनका आधारमा १०२.२९ प्रतिशत हो ।

कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन, शेयर बजारमा ब्यापारिक क्षेत्रको लगानी र बैंकिङ्ग प्रणालीमा कायम भएको अधिक तरलताका कारण लगानीको क्षेत्र शेयर बजार पर्दा धितोपत्रको कुल बजार पूँजीकरण देशकै कुल ग्राहस्थ उत्पादनभन्दा धेरै पुगेको हो ।

कोरोना भाइरसले आर्थिक गतिविधि अस्तव्यस्त भएपछि शेयर बजार भने निरन्तर नयाँ उचाई तर्फ देखियो । हरेक दिनजसो शेयर बजारले नयाँ रेकर्ड समेत बनाउँदै आएको छ । लगानीका क्षेत्र सीमित भएपछि उद्योगी व्यापारी लगायतले शेयर बजारलाई एक मात्र लगानीको क्षेत्र बनाएपछि निरन्तर बढ्दो क्रममा रहेको हो ।

अर्थतन्त्रको विपरित गतिमा निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठूलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ ।

धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।