यूनियन लाइफको आईपिओमा कसरी भए ७० हजार आवेदन रद्ध ?


डिजिटल माध्यमबाट शेयरमा आवेदन गर्न सकिने भएकाले पछिल्ला दिनमा प्राथमिक निष्काशनमा आबद्ध हुनेको संख्या दिन दुई गूणा, रात ४ गूणाले बढेको छ । यस दौरान साढे ३७ लाख हाराहारीमा डिम्याट खाता खोलिएका छन् भने मेरो शेयरका प्रयोगकर्ता पनि ३० लाख हाराहारी पुगिसकेका छन् ।

दोस्रो बजारमा नियमित कारोबार गर्नेभन्दा पनि साधारण शेयरमा आवेदन गर्नेहरुको चाप बढेका कारण नै डिम्याट खाता र मेरो शेयरका प्रयोगकर्ताहरु बढेका हुन् । यद्यपी बैंक खातामा भएको मौज्दातको अवस्थाका सम्बन्धमा आवेदकहरुले ध्यान नदिँदा बैंक मौज्दातको अभावमा धेरै आवेदनहरु रद्ध हुने गरेका छन् ।

शेयर बाँडफाँडको तयारीमा रहेको यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनका दौरान पनि ७० हजार हाराहारीमा आवेदनहरु रद्ध भएका छन् । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार एक दिनको सार्वजनिक विदा समेत गरी ५ दिनका लागि निष्काशन भएको शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो ।

उक्त आवेदन मध्ये दोहोरा आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ । अन्य कारणका सम्बन्धमा नोटबजारले क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीलाई राखेको जिज्ञासामा उनले बैंक खातामा रकम मौज्दात नभएका कारण ६५ हजार १७५ आवेदन रद्ध भएको बताए ।

एक व्यक्ति एक डिम्याट खाताको अवधारणा अघि सारिए पनि प्राथमिक शेयरमा एक व्यक्तिले धेरै जानको डिम्याट खाताबाट शेयर आवेदन गर्ने गरेका कारण बैंक मौज्दात नभएर आवेदन रद्ध हुने गरेको हो । यस पटक एकै समयमा ३ कम्पनीको साधारण शेयर निष्काशन भएको अवस्थामा आफुले नियन्त्रणमा राखेका धेरै बैंक खाताको मौज्दात रकमका सम्बन्धमा आवेदक जानकार नहुँदा धेरै आवेदनहरु रद्ध भएका हुन् ।

पहिले लाइन लागेर कागजी आवेदन बुझाउँदा देखिने गरेको बोरे तथा झोले प्रवृति समय अनुसार डिम्याट खाता र बैंक खातामा रुपान्तरण भएका कारण नै आवेदकको संख्या उच्च भएको हो । यस्तो अवस्थामा एकै पटक धेरै कम्पनीको शेयर निष्काशन हुँदा बैंक मौज्दात व्यवस्थापनमा धेरै आवेदन गर्नेहरु पछि पर्दा आवेदन रद्ध भएको देखिएको हो ।

डिम्याट खाता नबीकरण नभएको अवस्थामा शेयर आवेदन रद्ध हुँदैन भने मेरो शेयर नबीकरण नभएको अवस्थामा अनलाइनबाट शेयर आवेदन नै गर्न मिल्दैन । बाँकी दुई डिम्याट खाताबाट पर्ने आवेदन र बैंक मौज्दातको अवस्थाले मात्र आवेदन रद्ध हुने गरेको छ ।

यूनियन लाइफको आईपिको सन्दर्भमा माथि उल्लेख भएजस्तै एक जानले धेरै जनाको खाताबाट गरेको आवेदनका कारण नै २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको हो । कम्पनीले आफ्ना कर्मचारी र सामुहि लगानी कोषका लागि पाँच पाँच प्रतिशत शेयर सुरक्षित गरेर निष्काशन गरेको ५८ लाख ५ हजार कित्ता शेयर १० कित्ताका दरले ५ लाख ८० हजार ५०० आवेदकले मात्र पाउँछन् । यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

प्रभु क्यापिटलले बिहीबार इन्स्योरेन्सको साधारण शेयरको प्रिअलटमेण्ट गरिसकेको छ । बोर्डले स्वीकृति दिएको खण्डमा बिहीबार नै शेयर बाँडफँड गरि नतिजा सार्वजनिक गरिने प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।